कृषि विकास बैंक फुटसलमा पुरुष र महिला दुवै फाइनलमा



काठमाडौं, जेठ २७

कृषि विकास बैंकको पुरुष र महिला दुवै टोलीले १४औं कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत मंगलबार सम्पन्न सेमिफाइनल खेल जित्दै फुटसलको फाइनलमा स्थान सुरक्षित गरेका छन्।

टोखास्थित ग्रान्डी स्पोर्ट्स सेन्टरमा भएको पुरुष सेमिफाइनलमा कृषि विकास बैंकले नेपाल वायुसेवा निगमलाई १–० ले पराजित गर्दै फाइनलमा प्रवेश गर्‍यो। अब उपाधिका लागि उसको प्रतिस्पर्धा नेपाल नागरिक उड्डयन प्राधिकरण ‘ए’ सँग हुनेछ। नागरिक उड्डयनले अर्को सेमिफाइनलमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई २–१ ले पराजित गरेको थियो।

महिलातर्फ पाँच टिम सहभागी राउन्ड रोबिन लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै कृषि विकास बैंक शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो। ३ जित र १ बराबरीसँगै उसले १० अंक जोडेको थियो। फाइनलमा कृषिको प्रतिस्पर्धा नेपाल बैंक लिमिटेडसँग हुनेछ, जसले ८ अंकसहित उपविजेता स्थान प्राप्त गर्‍यो।

प्रतियोगितामा पुरुषतर्फ शीर्ष तीन स्थान हासिल गर्ने टोलीले क्रमशः ५५ हजार, ३३ हजार र २२ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। महिलातर्फ विजेता टिमले ३० हजार र उपविजेता टिमले २० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ। फाइनल खेल बुधबार हुनेछ।

प्रतिक्रिया दिनुहोस्