
काठमाडौं, जेठ २७
अन्तर्राष्ट्रिय खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू निश्चल तामाङ र उमेश महर्जनलाई मार्सल आर्ट्स अर्गनाइजेसन नेपालले नगदसहित सम्मान गरेको छ।
सेल्फ डिफेन्स प्रशिक्षणका लागि नेपाल आएका जर्मनीका प्रशिक्षक ग्रान्ड मास्टर हान्स होहन, मास्टर जोर्ग टिम र क्याथ्रिना श्रेङको बिदाइ कार्यक्रममा आयोजित विशेष समारोहमा उनीहरूलाई सम्मान गरिएको हो।
कार्यक्रममा कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डगोंल र एनआरएनएका सल्लाहकार डा. देवकाजी डगोलले निश्चल र उमेशलाई जनही १०० अमेरिकी डलरसहित प्रशंसा पत्र प्रदान गरे।
सिक्किममा सम्पन्न उसु प्रो फाइट प्रतियोगितामा निश्चलले स्वर्ण पदक जितेका थिए भने उमेशले इन्डोनेसियामा आयोजित भोभीनाम च्याम्पियनसिपमा कांस्य पदक हात पारेका थिए।
त्यसै समारोहमा राष्ट्रिय खेलकुद परिषद्बाट उमेर हदका कारण अनिवार्य अवकाशमा गएका उसु प्रशिक्षक रामगोपाल महर्जनलाई पनि कदरपत्रसहित सम्मान गरिएको थियो।
मार्सल आर्ट्स अर्गनाइजेसन नेपालका अध्यक्ष राजीव महर्जनका अनुसार एक हप्ते नेपाल बसाइका क्रममा जर्मन प्रशिक्षकहरूले विभिन्न उसु क्वानहरूमा आयोजित तालिममार्फत करिब १६५ प्रशिक्षार्थीलाई प्रशिक्षण दिएका थिए।
प्रशिक्षक हान्स होहनले बाल विकास स्कुल, निन्जा उसु क्वान, बुद्ध प्रकाश, इष्टपोल, बुढानिलकण्ठ, स्वयम्भू, बागमती र क्योकुसिन कराते क्लबका प्रशिक्षकहरूलाई क्लबको लोगो अंकित मायाको चिनो प्रदान गरेका थिए।





