लाओसलाई हल्का आँक्न मिल्दैन : प्रशिक्षक म्याट रस



एएफसी च्याम्पियनसिप छनोटको तेस्रो चरण अन्तर्गत लाओसविरुद्धको खेललाई सामान्य प्रतियोगिता भनेर लिइएको छैन, नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले बताएका छन्। मंगलबार आयोजित प्रि-म्याच पत्रकार सम्मेलनमा उनले लाओसको घरेलु मैदानमा खेल्दा घरेलु टोलीलाई केही फाइदा हुने भएकाले आफूहरू सतर्क रहेको जनाए।

“लाओस एक संगठित र आक्रामक टोली हो,” रसले भने, “घरेलु मैदानको फाइदा लिँदै उनीहरू कडा चुनौती दिन सक्छन्। सानो कमजोरीले पनि खेलको नतिजा फरक पार्न सक्छ, त्यसैले हामी यो खेललाई अत्यन्त गम्भीरतापूर्वक लिएका छौं।”

उनका अनुसार दुवै टोली अंक बटुल्न तयार छन्, र नेपाली टोली पनि त्यसअनुसारको तयारीमा जुटेको छ।

प्रशिक्षक रसले टोलीको संयोजनमा केही परिवर्तन हुनसक्ने संकेत पनि दिएका छन्। “हङकङविरुद्ध मैदान उत्रिएको टोलीमा केही फेरबदल हुन सक्छ,” उनले भने, “हामी लाओसविरुद्ध अझ बलियो र सन्तुलित टोली उतार्ने योजनामा छौं।”

यसैबीच, हङकङविरुद्धको खेलमा डिफेन्डर सनिश श्रेष्ठ चोटग्रस्त भएका छन्, जसका कारण उनको स्थानमा वैकल्पिक खेलाडी समावेश हुनसक्नेछ।

प्रेस कन्फ्रेन्समा सहभागी नेपाली कप्तान किरण चेम्जोङले भने, “हामी लाओसविरुद्धको खेलका लागि सदैव सकारात्मक सोचका साथ मैदानमा उत्रिन्छौं। पछिल्ला चार खेलमा म स्वयं सहभागी भएको छु, त्यसैले टोली शारीरिक र मानसिक रूपमा पूर्ण रूपमा तयार छ।”

साउदी अरेबियामा आयोजना हुने एएफसी च्याम्पियनसिपका लागि जारी छनोटअन्तर्गत समूह ‘एफ’ को पहिलो चरणको खेलमा नेपालले बुधबार लाओससँग अवे खेल खेल्नेछ। अघिल्ला ६ खेलहरूमध्ये नेपालले ४ जितेको र २ बराबरी खेलेको छ। लाओसको घरेलु मैदानमा खेलेका २ खेलमध्ये नेपालले एक जित र एक बराबरी निकालेको थियो।

तेस्रो चरण अन्तर्गत नेपाल मलेसियासँग २-० ले पराजित भइसकेको छ भने लाओसले भियतनामसँग ५-० को हार ब्यहोरेको छ।

प्रतिक्रिया दिनुहोस्