क्याडी गल्फ प्रतियोगिताको उपाधि अनिल र पार्वतीलाई



अनिल तामाङ र पार्वती सुबेदीले रोयल नेपाल गल्फ क्लब (RNGA) द्वारा आयोजित वार्षिक क्याडी गल्फ प्रतियोगिता २०२५ को उपाधि जितेका छन्।

पुरुषतर्फ अनिल तामाङले उत्कृष्ट प्रदर्शन गर्दै ११३ स्कोरको साथ उपाधि हात पारे। उनले दोस्रो स्थानमा रहेका रोहित आचार्यलाई ३ स्ट्रोकले पछि पार्दै शीर्ष स्थानमा कब्जा जमाए। उपाधिसँगै अनिलले नगद २१ हजार रुपैयाँ प्राप्त गरे। रोहित आचार्यले ११६ स्कोरसहित दोस्रो स्थान हासिल गर्दै १६ हजार रुपैयाँ जिते। तेस्रो स्थानमा ११९ स्कोरसहित वीर बहादुर तामाङ रहे। कृष्ण नेपाल र दिपेश श्रेष्ठ क्रमशः चौथो र पाँचौं स्थानमा परे।

महिलातर्फ पार्वती सुबेदीले ९३ स्कोर गर्दै उपाधि जितिन् र १० हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गरिन्। गीता तामाङ ९९ स्कोरसहित दोस्रो र सुभानी भट्ट १०८ स्कोरसहित तेस्रो स्थानमा रहे।

छैटौं होलमा होल-इन-वन गरेकी संगीता बलम्पिकालाई ५ हजार रुपैयाँ पुरस्कार दिइयो। अन्य उपाधिहरूमा विदुर तामाङले दुई बर्डीसहित ‘मोस्ट बर्डिज’, कृष्ण सिंहले ‘लङ्गेस्ट ड्राइभ’, र विजय तामाङले ‘क्लोजेस्ट टु द पिन’ उपाधि जिते।

प्रतियोगिता दुई दिनसम्म स्ट्रोक प्ले फर्म्याटमा स्क्र्याच ह्यान्डिक्याप आधारमा खेलाइएको थियो। पहिलो चरणमा सबै खेलाडीले १८ होल पूरा गरेपछि कट लागू गरिँदा उत्कृष्ट १७ खेलाडीलाई अन्तिम ९ होल खेल्ने अवसर दिइएको थियो।

कूल १ लाख ४३ हजार ५ सय रुपैयाँ नगद पुरस्कार रहेको प्रतियोगिताको समापनमा RNGA अध्यक्ष मधुकर याकतुम्बा, क्लब क्याप्टेन मिथुन राई, नेपाल गल्फ संघका अध्यक्ष टासी घले, महासचिव दीपक आचार्य, पूर्व पीजीए नेपाल अध्यक्ष घनश्याम थापा र महिला गल्फर गीता गुरुङले विजेताहरूलाई पुरस्कार प्रदान गरे।

प्रतिक्रिया दिनुहोस्