
यू–१४ राष्ट्रिय विद्यालय खेलकुद अन्तर्गत रग्बी सेभेन्स प्रतियोगितामा छात्रतर्फ मधेश र छात्रातर्फ सुदूरपश्चिम प्रदेश च्याम्पियन बनेका छन्।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न छात्र फाइनलमा मधेशले कर्णालीलाई सडन डेथमा पराजित गर्दै उपाधि चुम्न सफल भयो। निर्धारित समयमा दुबै टोलीले अंक गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुग्यो, जहाँ मधेशले एक ‘ट्राइ’ गर्दै जित सुनिश्चित गर्यो। यस समूहमा गण्डकी प्रदेश तेस्रो स्थानमा रह्यो।
छात्रातर्फको उपाधि सुदूरपश्चिमले जित्यो। फाइनल खेलमा सुदूरपश्चिमले कर्णालीलाई पराजित गर्दै च्याम्पियन बन्न सफल भयो। खेलका क्रममा कर्णालीले ‘थ्री नकअन’ गरेपछि सुदूरपश्चिमले अवसरको फाइदा उठाउँदै विजय हात पारेको हो। छात्रातर्फ बागमती प्रदेशले तेस्रो स्थान हासिल गर्यो।
विजेता टोलीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, सदस्य हिमाल श्रेष्ठ लगायतका व्यक्तित्वहरूको उपस्थितिमा आयोजित विशेष कार्यक्रममा पुरस्कार वितरण गरिएको थियो।





