
१४औं कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटसलमा नेपाल नागरिक उड्डयन प्राधिकरण ‘ए’ र जनक शिक्षा सामग्री केन्द्र क्वाटरफाइनलमा प्रवेश गरेका छन्। समूह ‘सी’ मा नागरिक उड्डयन विजेता र जनक शिक्षा उपविजेता बन्दै अन्तिम आठमा स्थान बनाएका हुन्।
टोखास्थित ग्रान्डी स्पोर्ट्स सेन्टरमा नागरिक उड्डयनले नेपाल आयल निगमलाई २–१ तथा नेपाल विद्युत प्राधिकरणलाई २–० गोलले हरायो। जनक शिक्षा सामग्री केन्द्रसँगको खेल १–१ गोलको बराबरीमा सकिएको थियो।
जनक शिक्षाले विद्युतलाई २–१ ले पराजित गरे पनि आयल निगमसँग २–२ को बराबरीमा रोकिएको थियो।
त्यस्तै, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड, नेपाल वायुसेवा निगम, कृषि विकास बैंक ‘ए’ र नागरिक लगानी कोष पनि क्वाटरफाइनलमा स्थान बनाउन सफल भएका छन्।
प्रतियोगितामा पुरुषतर्फ २० टिम सहभागी छन्।

महिला फुटसलमा कृषि विकास बैंक शीर्षमा
महिला फुटसलमा कृषि विकास बैंक शीर्ष स्थानमा रहेको छ। पाँच टिम सहभागी राउन्ड रोबिन लिगमा कृषिले हालसम्म दुई खेल जित्दै उत्कृष्ट प्रदर्शन गरिरहेको छ।
प्रतियोगिताको उद्घाटन कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) का अध्यक्ष रामविनय श्रेष्ठले गरेका थिए।
पुरुषतर्फ शीर्ष तीन स्थान हासिल गर्ने टिमले क्रमशः ५५ हजार, ३३ हजार र २२ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। महिला तर्फ विजेताले ३० हजार र उपविजेताले २० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन्।
फुटसल प्रतियोगिता बुधबार सम्पन्न हुनेछ।





