
यु–१४ राष्ट्रिय विद्यालय खेलकुदअन्तर्गत टेबलटेनिसमा बागमती प्रदेशले सोमबार प्रभावशाली प्रदर्शन गर्दै क्लिन स्विप गर्दै सबै चार स्वर्ण पदक आफ्नो पोल्टामा पार्यो। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सम्पन्न प्रतियोगितामा बागमतीका खेलाडीहरू सबै विधामा शीर्ष स्थानमा रहन सफल भए।

एकल स्पर्धा:
छात्र एकलमा बागमतीका आर्यन शाहीले अर्नव श्रेष्ठलाई ११–६, ११–७, ७–११ र १४–१२ ले पराजित गर्दै उपाधि जिते। छात्रा तर्फ अर्सना महर्जनले साइरा शाक्यलाई ११–६, ११–९ र ११–९ को सोझो सेटमा हराउँदै पहिलो स्थान हात पारिन्।
छात्र एकलमा गण्डकीका सुगम पौडेल र कोशीका गौतम तामाङ तेस्रो भए भने छात्रा तर्फ लुम्बिनीकी सोनम गुरुङ र बागमतीकी प्राज्ना महर्जनले कांस्य पदक जिते।
डबल्स स्पर्धा:
छात्र डबल्समा आर्यन शाही र अर्नव श्रेष्ठको बागमती जोडीले कोशीका गौतम तामाङ र सक्षम बस्नेतलाई ११–९, ११–७, ११–६ को सोझो सेटमा पराजित गर्दै स्वर्ण जिते। गण्डकीका सुगम पौडेल–दीपनिशान शाही र लुम्बिनीका सुविन क्षेत्री–सुविन थापाले कांस्य हात पारे।
छात्रा डबल्समा बागमतीका अर्सना महर्जन र साइरा शाक्यको जोडीले कोशीका स्वस्तिका चौधरी र श्रेया सुवेदीलाई ११–१, ११–४ र ११–२ को सहज जित दिंदै उपाधि जिते। लुम्बिनीकी सोनम गुरुङ–अयाना शाह तथा गण्डकीकी श्रृष्टि खड्का–ब्रिसना बस्नेतको जोडीले कांस्य जिते।
विजेता तथा पदक विजयी खेलाडीहरूलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यकारी समितिका सदस्य भानबहादुर चन्दलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।





