
काठमाडौं, जेठ २६ — यु–१४ राष्ट्रिय विद्यालय खेलकुद अन्तर्गत सोमबार सम्पन्न एथलेटिक्स स्पर्धामा लुम्बिनी प्रदेश च्याम्पियन बनेको छ। लुम्बिनीले सर्वाधिक ४ स्वर्ण पदक जित्दै शीर्ष स्थान हासिल गरेको हो।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा सम्पन्न प्रतियोगितामा कर्णाली प्रदेशले २ स्वर्ण र ५ रजतसहित दोस्रो स्थान हासिल गर्यो। गण्डकी र मधेश प्रदेशले समान २ स्वर्ण, १ रजत र १ कांस्य जित्दै संयुक्त रूपमा तेस्रो स्थानमा रहे। १२ स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा बागमती र सुदूरपश्चिम प्रदेशले समान १–१ स्वर्ण पदक जिते।
दशरथ रंगशालामा सम्पन्न प्रतियोगिताको दोस्रो तथा अन्तिम दिन छात्र र छात्रा वर्गमा समान ३–३ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो।
दौड स्पर्धा परिणामहरू:
छात्र २०० मिटर दौडमा गण्डकीका हेमराज चौधरी पहिलो भए, उनले २४.९ सेकेन्डमा दूरी पूरा गरे। मधेशका आयुश चौधरी दोस्रो र कोशीका नितेश भट्टराई तेस्रो भए।
छात्रा २०० मिटर दौडमा लुम्बिनीकी अनुजा थारु चौधरी ३१.४ सेकेन्डमा दौड पूरा गर्दै विजेता बनिन्। कोशीकी अस्मिता लाम्गाडे दोस्रो र मधेशकी वर्षा योञ्जन तेस्रो भएन्।
छात्र ८०० मिटर दौडमा बागमतीका हस्त सुनारले २ मिनेट ०७.४ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण जिते। कर्णालीका विवेक बोगटीले रजत र कोशीका नितेश भट्टराईले कांस्य जिते।
छात्रा ८०० मिटर दौडमा लुम्बिनीकी चाँदनी पासी २ मिनेट ४७.३ सेकेन्डमा दौड पूरा गर्दै च्याम्पियन बनिन्। कोशीकी जुही राई दोस्रो र सुदूरपश्चिमकी रचना बोहरा तेस्रो स्थानमा रहिन्।
छात्र ४×१०० मिटर रिलेमा मधेश प्रदेशले प्रथम स्थान हासिल गर्यो, कोशी दोस्रो र गण्डकी तेस्रो स्थानमा रहे।
छात्रा रिले स्पर्धामा लुम्बिनी, कर्णाली र कोशी प्रदेशले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान प्राप्त गरे।





