गृहमन्त्री लेखकको राजीनामा आवश्यक छैन, कुनै उजुरी परेको छैन : रामनारायण बिडारीमाधव नेपालमाथिको मुद्दा राजनीतिक प्रतिशोध : मेटमणि चौधरीसरकार ढल्नेवाला छैन, जतिसुकै धुप बाल्दा पनि असर पर्दैन : शेरबहादुर तामाङ



काठमाडौं, २५ जेठ —
नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता रामनारायण बिडारीले गृहमन्त्री रमेश लेखकविरुद्ध अहिलेसम्म कुनै औपचारिक उजुरी नपरेकोले राजीनामा आवश्यक नरहेको बताएका छन्। रिपोर्टर्स क्लब नेपालद्वारा शनिबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले राजीनामा दिने वा नदिने निर्णय गृहमन्त्रीको व्यक्तिगत नैतिकतासँग सम्बन्धित रहेको उल्लेख गरे।

बिडारीले संसद्लाई व्यक्तिगत नैतिकताको आधारमा अवरोध गर्न नमिल्ने स्पष्ट पारे। उनले भने, “नैतिकता व्यक्तिगत विषय हो, बाध्यता होइन। नैतिकता भन्दै संसदलाई बन्धक बनाउने काम स्वीकार्य हुँदैन।”

भिजिट भिसा प्रकरणलाई गम्भीर मानव तस्करीसम्बन्धी अपराधको रुपमा व्याख्या गर्दै उनले राज्यलाई अन्तर्राष्ट्रिय रूपमा अप्ठ्यारोमा पार्ने चेतावनी दिए।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथिको मुद्दालाई लिएर बिडारीले अख्तियारलाई सरकारको नियन्त्रणभन्दा बाहिरको संवैधानिक निकाय भने। “अख्तियारलाई कारबाही संसद्ले मात्र महाभियोगमार्फत गर्न सक्छ,” उनले स्पष्ट पारे।

उनले गिरिबन्धु चिया बगान र पतञ्जलीसम्बन्धी मुद्दा फरक प्रकृतिका भएको तर्क गरे। माधव नेपालमाथिको आरोप नीतिगत निर्णय थियो कि होइन भन्ने स्पष्ट हुनुपर्ने उल्लेख गर्दै उनले सुप्रीम कोर्टमा रिट हाल्न सकिने विकल्प प्रस्तुत गरे।

भ्रष्टाचारबारे टिप्पणी गर्दै बिडारीले यो समस्या राजतन्त्रकालदेखि वर्तमानसम्म झन् गहिरिँदै गएको बताए। उनले भ्रष्टाचार नियन्त्रणमा विश्वका धेरै देशहरुले कठोर विधि अपनाएको उदाहरण दिँदै नेपालमा भने कानुनी कमजोरीका कारण सजिलै मुद्दा दर्ता गर्न नसकिने बताए।

ओलीको नेतृत्वमा कानूनको धज्जी उडाइयो : मेटमणि चौधरी
नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा कानून र प्रक्रियाको निरन्तर उल्लंघन भएको आरोप लगाए। उनले माधवकुमार नेपालविरुद्ध दायर भ्रष्टाचार मुद्दा राजनीतिक प्रतिशोध भएको दाबी गरे।

“ओली सशक्त हुँदा देशमा अपारदर्शी कार्यहरू भइरहन्छन्,” चौधरीले भने, “ओलीको पालामा प्रतिनिधिसभासमेत विघटन गरिएको थियो।”

उनले माधव नेपाललाई लक्षित गरी अख्तियारलाई जबरजस्ती प्रयोग गरिएको आरोप लगाए। “माधव नेपाललाई मुद्दा लगाएर पार्टी कमजोर पार्ने र एमालेलाई सबभन्दा ठूलो दल बनाउने रणनीति हो,” उनले भने।

भुटानी शरणार्थी प्रकरण र गिरिबन्धु केस दुवै ओलीकै कार्यकालमा सुरुआत भएको चौधरीले स्मरण गराए। उनले ओलीमाथि सत्ता प्रयोग गरेर प्रतिपक्षी नेतालाई मानसिक रूपमा कमजोर पार्ने प्रयत्न गरेको आरोप समेत लगाए।

“अख्तियार संविधान र ऐनअनुसार चलेको छैन, यो राजनीतिक खेल बनेको छ,” उनले भने। “तर हामी डराउँदैनौं, डटेर प्रतिवाद गर्छौं। माधव नेपाल अध्यक्ष रहँदै ओलीको प्रतिगामी कदमको सशक्त प्रतिरोध हुनेछ।”

सरकार स्थिर छ, केहीले चाहे पनि नढल्ने : शेरबहादुर तामाङ
नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले कांग्रेस–एमालेको गठबन्धन सरकार अत्यन्त स्थिर रहेको बताएका छन्। उनले सरकार ढाल्न विभिन्न प्रयास भए पनि त्यसले कुनै असर नपार्ने दाबी गरे।

“सरकार त ढल्यो भनेर एक वर्षदेखि भन्दै आएको सुनिन्छ,” तामाङले भने, “तर सरकार २०८४ सालसम्म निरन्तर चल्नेछ।”

भ्रष्टाचारसम्बन्धी छानबिनका विषयमा उनी स्पष्ट थिए—“कुनै पनि दललाई फुटाएर हामी ठूलो पार्टी बन्न चाहन्नौं। हामी जनताको विश्वासमा टिक्न चाहन्छौं।”

गृहमन्त्री लेखकसम्बन्धी विवादमा तामाङले लेखकको संलग्नता प्रमाणित नभएको बताए। “राजीनामा नदिए पनि हुन्छ भन्ने हाम्रो धारणा हो, किनभने अहिलेसम्म लेखक प्रत्यक्ष संलग्न देखिएका छैनन्,” उनले भने।

तामाङले भ्रष्टाचारको कुनै पनि मुद्दा प्रमाणसहित अदालतमा लैजान सरकार तयार रहेको बताए। “अख्तियारले जे प्रश्न उठाएको छ, त्यसको उत्तर अदालतमा दिनेछ। हामी प्रमाणका आधारमा मुद्दा अघि बढाउँछौं,” उनले प्रस्ट्याए।

प्रतिक्रिया दिनुहोस्