
काठमाडौं, २५ जेठ।
नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङले महान व्यक्तिहरूले कहिल्यै पनि कुनै आशा राख्दैनन् भन्ने विचार व्यक्त गर्नुभएको छ।
आइतबार नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा आयोजित नेपाल प्रजातन्त्र सेनानी स्वर्गीय हेमराज अधिकारी (शास्त्री) को १३औं दिनको पुण्य तिथिका अवसरमा आयोजित श्रद्धाञ्जली सभालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै गुरुङले महान व्यक्तिहरू त्याग र तपस्याको मूल्य खोज्दैनन् भन्नुभयो।
उहाँले भन्नुभयो, “त्याग र तपस्याको मूल्य हुँदैन। महान व्यक्तिले त्यसको प्रतिफल कहिल्यै अपेक्षा गर्दैन।”

स्वर्गीय शास्त्रीको योगदानको स्मरण गर्दै गुरुङले पार्टीको आजको उपलब्धिमा शास्त्रीजस्ता निष्ठावान् योद्धाहरूको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो। “शास्त्रीजस्ता योद्धाहरूका कारण नै पार्टी आजको स्थानमा पुगेको हो, त्यसैले उहाँहरूको सम्झना सदैव रहिरहनेछ,” उहाँले भन्नुभयो।
उहाँले पार्टीको आन्तरिक व्यवस्थापनप्रति इंगित गर्दै योगदान नपुगेका व्यक्तिहरूलाई पनि जिम्मेवारी दिनु पर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले भन्नुभयो, “कसैलाई जिम्मेवारी दिन नपाउँदै पदको बोझ थोपर्ने हो भने, जीवनभर केही नपाउने अवस्था आउन सक्छ।”
पूर्वमन्त्री गुरुङले सहिद र महान योद्धाहरूको सपना साकार पार्न नेपाली कांग्रेस पार्टीलाई सुन्दर, व्यवस्थित र प्रभावशाली बनाउनुपर्नेमा जोड दिनुभयो। “कांग्रेसलाई सुन्दर बनाउन सके मात्र सहिदहरूको योगदानको कदर हुनेछ,” भन्दै सबैलाई पार्टी सुदृढीकरणमा जुट्न उहाँले आग्रह गर्नुभयो।





