सय मिटर दौडमा आदित्य र गौरीलाई स्वर्ण



यु–१४ राष्ट्रिय विद्यालय खेलकुद अन्तर्गत आइतबार सम्पन्न एथलेटिक्सको १०० मिटर दौडमा मधेश प्रदेशका आदित्य यादव र सुदूरपश्चिम प्रदेशकी गौरीकुमारी साउदले स्वर्ण पदक जितेका छन्।

दशरथ रंगशालामा आयोजित प्रतियोगितामा आदित्यले ११.६ सेकेन्डमा दौड पूरा गर्दै छात्र तर्फ पहिलो स्थान हासिल गरे। कर्णाली प्रदेशका सुरेन्द्र परियारले रजत तथा कोशी प्रदेशका अंकित ताजपुरीयाले कांस्य पदक जिते।

छात्रा तर्फ गौरीकुमारी साउदले १४.६ सेकेन्डमा दूरी पूरा गर्दै स्वर्ण पदक जितिन्। यस स्पर्धामा कर्णालीकी गोमा शाहीले रजत तथा कोशीकी प्रकृति काफ्लेले कांस्य हात पारिन्।

अन्य एथलेटिक्स नतिजा

४०० मिटर दौडको छात्र तर्फ गण्डकी प्रदेशका आयन राना ५५.६ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण पदक विजेता बने। सुदूरपश्चिमका रोहित धामी दोस्रो र कोशीका प्रियान्शु शाह तेस्रो भए।

छात्रा तर्फ कर्णालीकी सुष्मा बुढा ६९.३ सेकेन्डको समयसहित पहिलो बनिन्। गण्डकीकी आराध्या चालिसे दोस्रो र बागमतीकी शिल्भी नागा तेस्रो स्थानमा रहे।

लङजम्प (टेक्साल कुद) मा छात्र तर्फ कर्णाली प्रदेशका सुरेन्द्र सुनार ५.९८ मिटरको फड्कोसहित पहिलो भए। कोशीका नितेश गच्छदार दोस्रो र सुदूरपश्चिमका मोहन परियार तेस्रो भए।

छात्रा तर्फ लुम्बिनीकी अनुजा थारु चौधरीले ४.१७ मिटरको फड्को मार्दै स्वर्ण पदक जितिन्। कर्णालीकी करुणा चन्द दोस्रो र कोशीकी प्रकृति काफ्ले तेस्रो बनिन्।

एथलेटिक्सको पहिलो दिन कुल १२ स्पर्धामध्ये ६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो। कर्णालीले सबैभन्दा धेरै २ स्वर्ण जित्दा सुदूरपश्चिम, गण्डकी, मधेश र लुम्बिनी प्रदेशले समान १–१ स्वर्ण हात पारे।

प्रतिक्रिया दिनुहोस्