सामाजिक सुरक्षा भत्ता अनियमितता : अख्तियारमाथि ढिलासुस्तीको आरोप



कैलालीको जानकी गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्ता अनियमितताको उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाहीमा ढिलाइ गरेको भन्दै स्थानीय अभियानकर्ताले गुनासो गरेका छन्।

भ्रष्टाचारविरुद्धको सामाजिक अभियानका संयोजक कृष्ण सोडारीका अनुसार, वडा अध्यक्ष खकेन्द्र भण्डारी र सचिव प्रेम बुढाले २०७४/०७५ देखि ०७७/०७८ सम्म ८ करोड ९६ लाखभन्दा बढी रकम किर्ते गरेर हिनामिना गरेको आरोप छ। उनीहरूविरुद्ध २०७९ साउनमा कञ्चनपुरस्थित अख्तियार कार्यालयमा उजुरी दिइए पनि अहिलेसम्म मुद्दा विशेष अदालतमा दर्ता भएको छैन।

उनीहरूले एउटै नागरिकता नम्बरमा फरक नाम राखी दोहोरो–तेहोरो भत्ता लिएको र मृतकको नाममा समेत भत्ता बुझेको आरोप छ। सोडारीले उजुरी हाल काठमाडौं पठाइए पनि छानबिन मात्र भएको जनाउँदै विशेष अदालतमा तत्काल मुद्दा दर्ता गर्न माग गरेका छन्। अन्यथा वैकल्पिक कदम चाल्ने चेतावनी पनि दिएका छन्।

प्रतिक्रिया दिनुहोस्