ब्याडमिन्टनमा विद्युत प्राधिकरणको स्वर्ण पदकमा क्लिन स्वीप



कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) द्वारा आयोजित १४औं संस्करणको कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टन खेलमा नेपाल विद्युत प्राधिकरणले उल्लेखनीय प्रदर्शन गर्दै सबै स्वर्ण पदक हात पार्दै क्लिन स्वीप गरेको छ।

प्रतियोगिता हात्तिगौंडास्थित ¥र्याकेट एन्ड रोल ब्याडमिन्टन हलमा सम्पन्न भएको थियो, जहाँ पुरुष तथा महिला सिंगल्स, भेट्रान सिंगल्स र डबल्स लगायत ६ विधामा प्रतिस्पर्धा भएको थियो।

पुरुष सिंगल्स:

पुरुष एकलतर्फ विद्युत प्राधिकरणका भक्तराज जोशीले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जिते। उनले फाइनलमा आफ्नै टोलीका मंगेश तामाङलाई कडा संघर्षपूर्ण खेलमा २१–१२, २०–२२ र २२–२० को सेटमा पराजित गरे। कृषि विकास बैंकका टक्कर कुँवर र नेपाल नागरिक उड्डयन प्राधिकरणका कालजंग लामा तेस्रो स्थानमा रहे।

महिला सिंगल्स:

महिला सिंगल्समा विद्युत प्राधिकरणकी अम्बिका सापकोटाले नेपाल कृषि विकास बैंककी दीपिका राईलाई सजिलै २१–८ र २१–९ को सोझो सेटमा पराजित गर्दै स्वर्ण जितिन्। कृषिकी प्रतिक्षा नेपाल र नागरिक उड्डयनकी सरला श्रेष्ठले कांस्य पदक हात पारिन्।

भेट्रान (४५ वर्षमाथि) पुरुष सिंगल्स:

भेट्रान वर्गको पुरुष एकलमा विद्युतकै राजु महर्जनले रत्न श्रेष्ठलाई २१–१०, १४–२१ र २१–११ ले पराजित गर्दै पहिलो स्थान प्राप्त गरे। नेपाल वायुसेवा निगमका घनश्याम भट्ट र नागरिक उड्डयनका देवेन्द्रप्रसाद पाण्डे तेस्रो भए।

एक्सिक्युटिभ डबल्स:

एक्सिक्युटिभ डबल्सतर्फ बासु कलाउनी र लोकेन्द्र साउदको जोडी विजेता बन्यो। फाइनलमा उनीहरूले विद्युतकै विष्णु गैरे र युकेश श्रेष्ठको जोडीलाई १७–२१, २१–८ र २१–१८ को सेटमा पन्छाउँदै स्वर्ण जिते। नेपाल प्रज्ञा प्रतिष्ठानका इन्द्रप्रसाद सुवेदी र राजेन्द्रकुमार शाही ठकुरी तथा नागरिक उड्डयनका सन्तुष्टकुमार बस्नेत र रमेशबहादुर कुँवरले कांस्य पदक जिते।

भेट्रान पुरुष डबल्स:

भेट्रान डबल्समा राजु महर्जन र रत्न शाक्यको जोडीले स्वर्ण हात पारे। विद्युतका छविलाल भट्टराई र विष्णु मास्केको जोडीले रजत जिते भने, नागरिक उड्डयनका रमेशबहादुर कुँवर र देवेन्द्रप्रसाद पाण्डे तथा जनक शिक्षा सामग्री केन्द्रका जनक भारती र रामविनय श्रेष्ठको जोडीले कांस्य जिते।

पुरुष डबल्स:

पुरुष डबल्सतर्फ विद्युतका विनोद अधिकारी र भक्तराज जोशीको जोडीले स्वर्ण जिते। कृषि विकास बैंकका टक्कर कुँवर र राजकुमार निरौलाको जोडीले रजत तथा नेपाल टेलिभिजनका सुदीप बुढाथोकी र रामकुमार थापा तथा विद्युतकै श्याम महर्जन र विष्णु मास्केको जोडीले कांस्य पदक जिते।

प्रतिक्रिया दिनुहोस्