एनटिए राष्ट्रिय टिम ग्यरोगी च्याम्पियनसिप असार १ र २ गते हुने



काठमाडौं, जेठ २२

नेपाल तेक्वान्दो संघको आयोजनामा पहिलो पटक टिम ग्यरोगी मात्र समेटिएको ‘प्रथम एनटिए राष्ट्रिय टिम ग्यरोगी च्याम्पियनसिप’ प्रतियोगिता आगामी असार १ र २ गते हुने भएको छ।

विश्व तेक्वान्दोको टिम ग्यरोगी नियमअनुसार सञ्चालन हुने यो प्रतियोगितामा १२–१४ वर्ष उमेर समूहका क्याडेट ब्वाइज र गल्र्स तथा १५–१७ वर्ष समूहका जुनियर ब्वाइज र गल्र्स गरी चार स्पर्धा समावेश गरिएको हो।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा संघले प्रतियोगितामा करिब ७०० खेलाडीको सहभागिता अपेक्षा गरिएको जानकारी दियो। विजेता टिमले ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २५ हजार रुपैयाँसहित सम्मान पाउनेछ।

प्रतियोगिताको अनुमानित लागत १२ लाख ५५ हजार रुपैयाँ रहेको छ, जसको सम्पूर्ण व्यवस्थापन नेपाल तेक्वान्दो संघले गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्