
काठमाडौं, जेठ २२ — नेपाल विद्युत प्राधिकरणकी अम्बिका सापकोटा र नेपाल कृषि विकास बैंककी दीपिका राईले १४औं कर्मचारी खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको महिला सिंगल्सतर्फ बिहीबार फाइनलमा स्थान बनाएका छन्। हात्तिगौडास्थित ‘¥र्याकट एन्ड रोल’ ब्याडमिन्टन हलमा सम्पन्न सेमिफाइनल खेलमा अम्बिकाले कृषिकी प्रतिक्षा नेपाललाई २१–१७ र २१–१६ को सोझो सेटमा पराजित गरिन्। अर्कोतर्फ, दीपिकाले नेपाल नागरिक उड्डयन प्राधिकरणकी सरला श्रेष्ठमाथि २१–११ र २१–१२ को सहज जित निकालिन्।
पुरुष सिंगल्समा विद्युत प्राधिकरणको दबदबा
पुरुष सिंगल्सतर्फ विद्युत प्राधिकरणका भक्तराज जोशीले कृषि विकास बैंकका टक्कर कुँवरलाई २१–१९ र २१–१४ ले हराउँदै फाइनलमा प्रवेश गरे। त्यस्तै, विद्युतकै मंगेश तामाङले नागरिक उड्डयनका कालजंग लामालाई कडा संघर्षपछि १९–२१, २१–१६ र २१–५ को सेटमा पराजित गरे।
भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा विद्युतका खेलाडी फाइनलमा
यसै प्रतियोगिताअन्तर्गत भेट्रान ४५ वर्षमाथिको पुरुष सिंगल्समा विद्युत प्राधिकरणका रत्न श्रेष्ठले नागरिक उड्डयनका देवेन्द्रप्रसाद पाण्डेलाई २२–२४, २१–११ र २१–११ ले हराए। अर्का खेलमा विद्युतकै राजु महर्जनले नेपाल वायु सेवा निगमका घनश्याम भट्टलाई २१–१३ र २१–११ को सोझो सेटमा पाखा लगाउँदै फाइनल यात्रा तय गरे।
डबल्समा पनि विद्युतको वर्चस्व
एक्जिक्युटिभ डबल्सतर्फ विद्युतका बासु कोलोनी र लोकेन्द्र साउदको जोडी तथा विष्णु गैरे र युकेश श्रेष्ठको जोडी फाइनलमा पुगेका छन्।
पुरुष डबल्सतर्फ कृषिका टक्कर कुँवर र राजकुमार निरौला तथा विद्युतका विनोद अधिकारी र भक्तराज जोशीको जोडीले फाइनल भिडन्त तय गरेका छन्।
भेट्रान ४५ वर्षमाथिको पुरुष डबल्समा विद्युतका राजु महर्जन र रत्न श्रेष्ठ तथा छविलाल भट्टराई र विष्णु मास्केको जोडीले फाइनलमा स्थान सुरक्षित गरेका छन्।





