सायम अन्तरकलेज फुटसल असार ११ देखि, ५.५ लाखको बजेटमा सञ्चालन हुने



सायम कलेजको आयोजनामा ‘हाइसेन्स नेपाल प्रथम सायम अन्तरकलेज सेभेन-ए-साइड फुटसल प्रतियोगिता’ आगामी असार ११ गतेदेखि सुरु हुने भएको छ। प्रतियोगितामा २४ देखि ३२ वटा छात्र टिमहरूको सहभागिता अपेक्षा गरिएको छ।

सायमका प्रिन्सिपल अशोकराज पाण्डेले बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता सम्बन्धी जानकारी दिँदै स्नातक तहमा सेमेस्टर प्रणाली लागू भएका कलेजहरूले सहभागिता जनाउने बताए। प्रतियोगिताको मुख्य प्रायोजक एसी उत्पादक तथा विक्रेता हाइसेन्स नेपाल रहेको छ।

प्रतियोगितामा शीर्ष तीन स्थान प्राप्त गर्ने टिमहरूलाई क्रमशः ९० हजार, ४० हजार र २० हजार नगद पुरस्कार प्रदान गरिनेछ। साथै, उत्कृष्ट खेलाडीलाई ५ हजार नगद पुरस्कार दिइनेछ। त्यस्तै, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, र सर्वाधिक गोलकर्ता प्रत्येकले ३–३ हजार नगदसहित गिफ्ट भौचर पाउने छन्। उत्कृष्ट प्रशिक्षकलाई ट्रफीसहित गिफ्ट भौचर प्रदान गरिनेछ।

सायमका भाइस प्रिन्सिपल विशाल श्रेष्ठका अनुसार प्रतियोगिता सञ्चालनका लागि करिब ५ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। तीनदिने प्रतियोगिता भक्तपुरको दिब्येश्वरी प्लानिङस्थित रोयल नेपाल फुटसलमा लिग कम नकआउट प्रणालीमा सञ्चालन हुनेछ।

सायम कलेजले यसअघि सफलतापूर्वक पाँचौं संस्करणसम्म सायम प्रिमियर लिग इन्ट्रा-कलेज क्रिकेट प्रतियोगिता आयोजना गरिसकेको छ। यस पटक भने पहिलोपटक फुटसल प्रतियोगिता आयोजना गर्न लागिएको संयोजक दशरथ शाहीले बताए। साथै, आगामी वर्षहरूमा महिलाहरूको लागि पनि फुटसल प्रतियोगिता आयोजना गर्ने योजना रहेको उनले खुलासा गरे।

प्रतिक्रिया दिनुहोस्