एचजेबीएल: हाउण्ड्सलाई हराउँदै गोल्डेनगेट फाइनलमा प्रवेश



२१ जेठ, काठमाडौं । हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) अन्तर्गत बुधबार भएको खेलमा हाउण्ड्स एकेडेमीलाई ८१–७० ले पराजित गर्दै गोल्डेनगेट बास्केटबल क्लबले लिगको फाइनलमा स्थान सुरक्षित गरेको छ।

कीर्तिपुरस्थित कभर्डहलमा भएको यो खेलमा सुरुआती क्वाटर हाउण्ड्सले १८–१७ ले आफ्नो पक्षमा पार्‍यो। तर, दोस्रो क्वाटरमा गोल्डेनगेटले आक्रामक प्रदर्शन गर्दै २७–१५ को फराकिलो अन्तरले अग्रता बनायो र पहिलो हाफसम्म ४४–३३ ले अगाडि रह्यो।

तेस्रो क्वाटरमा हाउण्ड्सले १८–१४ को स्कोर गर्दै पुनः खेलमा फर्किने संकेत दिए पनि चौथो क्वाटरअघि गोल्डेनगेट ५८–५१ को अग्रता बनाइरहेको थियो। अन्तिम क्वाटरमा गोल्डेनगेटले २३–१९ को स्कोर गर्दै जित सुनिश्चित गर्‍यो।

यो जितसँगै गोल्डेनगेटले ९ खेलमा १७ अंक जोड्दै शीर्ष स्थानमा रहँदै एक खेल बाँकी रहँदै फाइनलमा स्थान बनाएको हो। पहिलो खेलमा टाइम्ससँग पराजित भए पनि गोल्डेनगेटले त्यसपछि लगातार आठ खेल जितेर फाइनल यात्रा तय गरेको हो। हाउण्ड्सविरुद्ध दुवै लिग खेलमा विजयी बनेको गोल्डेनगेटले यसअघि पनि हाउण्ड्सलाई ८०–७५ ले हराएको थियो।

दोस्रो हार व्यहोरेको हाउण्ड्स १६ अंकसहित दोस्रो स्थानमा छ र अब लिगको अन्तिम खेलमा तेस्रो स्थानको टाइम्स बास्केटबल क्लबसँग भिड्नुपर्नेछ। फाइनल पुग्न हाउण्ड्सले उक्त खेल जित्नैपर्ने हुन्छ। टाइम्स विजयी भएमा दुवै टोलीको १७ अंक हुने भएकाले फाइनलमा पुग्ने टिम अंक स्कोरको आधारमा टुंगो लाग्नेछ।

गोल्डेनगेटका अभिषेक सिंहले सर्वाधिक २२ अंक जोड्दै उत्कृष्ट प्रदर्शन गरे भने हाउण्ड्सका सौरभ श्रेष्ठले १८ अंक स्कोर गरे। उत्कृष्ट प्रदर्शनका लागि गोल्डेनगेटका सुदिप पौडेल ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए।

प्रतिक्रिया दिनुहोस्