
गोकर्ण गल्फ क्लबमा जारी नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपमा ऐतिहासिक प्रदर्शन
काठमाडौं, जेठ २२ – नेपाल ‘ए’ टिमले ११औं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिपको टिम स्पर्धामा स्वर्ण पदक जितेको छ। नेपालका शीर्ष गल्फर सदभाव आचार्यले नयाँ कोर्स रेकर्ड बनाउँदै टिमलाई जितसम्म पुर्याएका हुन्।
सदभाव र राहुलको ऐतिहासिक स्कोर
गोकर्ण गल्फ क्लबमा जारी प्रतियोगिताको दोस्रो दिन नेपाल ‘ए’ का सदभाव आचार्य र राहुल विश्वकर्माले संयुक्त रूपमा २४-अन्डर २६४ को स्कोर गर्दै स्वर्ण हात पार्यो। आजको खेलमा सदभावले १२-अन्डर ६० को अविश्वसनीय स्कोर बनाउँदै नयाँ कोर्स रेकर्ड तोडे, जुन यसअघि २०२३ मा शुक्रबहादुर राईले बनाएका थिए। राहुलले पनि प्रभावशाली ४-अन्डर ६८ को स्कोर गरे।
नेपाल ‘ए’ले दोस्रो स्थानको भुटानलाई २४ स्ट्रोकले पछि पार्यो। भुटानी टिम निम दोर्जी तामाङ र डेचेन लेन्डुप का साथ दोस्रो स्थानमा रह्यो। बङ्गलादेश (सफिकुल इस्लाम र मोहम्मद सहाब उद्दीन) को टिम कास्य पदक विजेता बन्यो।

व्यक्तिगत स्पर्धामा पनि सदभाव अग्रस्थानमा
३६ होलपछि व्यक्तिगत स्पर्धामा सदभाव १८-अन्डर १२६ स्कोरसहित पहिलो स्थानमा छन्। भारतका सुमित कोटवाल १०-अन्डर १३४ स्कोरसहित दोस्रो र नेपालका राहुल विश्वकर्मा ६-अन्डर १३८ स्कोरसहित तेस्रो स्थानमा छन्।
सदभावको कीर्तिमानी प्रदर्शन
सदभावले आजको खेलमा १२ वटा बर्डी प्रहार गरे। उनले फ्रन्ट नाइन र ब्याक नाइन दुबैमा ६-अन्डर ३० को स्कोर गरे। ११औंदेखि १५औंसम्म लगातार ५ बर्डी प्रहार गर्दै शुक्रको रेकर्ड बराबरी गरेका उनले अन्ततः १८औं होलमा बर्डी गर्दै नयाँ कोर्स रेकर्ड कायम गरे।
अन्य प्रमुख नतिजा
राहुल विश्वकर्मा: आज ४-अन्डर ६८, समग्रमा ६-अन्डर १३८
रेशन अलगामा (श्रीलंका) र सहाब उद्दीन (बङ्गलादेश): संयुक्त चौथो, समग्रमा ४-अन्डर १४०
निम दोर्जी तामाङ (भुटान) र टासी छिरिङ (नेपाल): संयुक्त सातौं, २-ओभर १४६
सफिकुल इस्लाम (बङ्गलादेश) र वाङ्गचेन ढोन्डुप (नेपाल): संयुक्त नवौं, ४-ओभर १४८
महिला स्पर्धामा भारतको दबदबा
अनन्थी विवेक (भारत): समग्रमा ३-अन्डर १४१, शीर्ष स्थान
दिया क्रिस कुमार (भारत): ११-ओभर १५५, दोस्रो
तारा कार्की चित्रकार (नेपाल): १९-ओभर १६३, तेस्रो
यु-१६ ब्वाइजतर्फ भारतको अग्रता
भिभान उभायकर (भारत): १-ओभर १४५, शीर्ष स्थान
प्रिम्स बैंन्सला (भारत): ५-ओभर १४९, दोस्रो
अदभय बगला (भारत): ८-ओभर १५२, तेस्रो
रुबेन थापा (नेपाल): ९-ओभर १५३, चौथो स्थान
नेपालका ड्यानियल बाँनियाँ, सोहम अग्रवाल, दीपसन लामा, र अभानी राई कट पास गर्न सफल भएका छन्।
प्रतियोगिता विवरण
५४ होलको तीनदिने च्याम्पियनसिपमा नेपालसहित बङ्गलादेश, भुटान, भारत र श्रीलंकाका गरी ५७ खेलाडी सहभागी छन्। प्रतियोगिता वल्र्ड एमेच्योर गल्फ र्याङ्किङ (WAGR) द्वारा मान्यता प्राप्त हो, जसबाट सहभागीले र्याङ्किङ अंक प्राप्त गर्नेछन्।





