प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता पोखरामा जेठ २७ देखि



छ वटा शीर्ष टोलीको सहभागिता, विजेताले ६ लाख रुपैयाँ पुरस्कार

पोखरा, जेठ २१

प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता यही जेठ २७ गतेदेखि पोखरा रंगशालामा सुरु हुने भएको छ। आयोजक नेश्नल स्पोर्ट्स एकेडेमीले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितासम्बन्धी जानकारी दिएको हो।

प्रतियोगिता जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ। आयोजकका अनुसार प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब, एपीएफ क्लब र ट्रिभुवन आर्मी क्लब सहित गण्डकी प्रदेश, एभरेष्ट एकेडेमी र न्यु डामण्ड एकेडेमी गरी कुल ६ टोलीको सहभागिता रहनेछ।

राउण्ड रोबिन लिगमा प्रतिस्पर्धा, आकर्षक पुरस्कार
प्रतियोगिता राउण्ड रोबिन लिग प्रणालीमा सञ्चालन हुनेछ। विजेता टिमले नगद ६ लाख, उपविजेताले ३ लाख र तेस्रो हुने टिमले १ लाख रुपैयाँ प्राप्त गर्नेछ। यसैगरी, सर्वोत्कृष्ट खेलाडीलाई ३० हजार र विधागत उत्कृष्ट खेलाडीलाई जनही २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

प्रतियोगितामा सहभागी सबै खेलाडीको यातायात तथा बसोबासको व्यवस्था आयोजक संस्थाले गर्ने बताइएको छ।

भलिबलको विकासमा नयाँ इँटा थप्ने प्रयास
अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोईराला ज्वालाले पत्रकार सम्मेलनमा बोल्दै भलिबल नेपालको लोकप्रिय खेलमध्ये एक भएकाले यसको विकासमा योगदान पुर्‍याउने उद्देश्यले प्रतियोगिता सुरु गरिएको बताए। उनका अनुसार आगामी दिनमा प्रतियोगितालाई थप फराकिलो बनाउँदै लैजाने लक्ष्य राखिएको छ।

राष्ट्रिय खेलको सम्मानमा प्रतियोगिता
नेश्नल स्पोर्ट्स एकेडेमीका अध्यक्ष दीपक कोईरालाले तत्कालीन प्रचण्ड नेतृत्वको सरकारले भलिबललाई राष्ट्रिय खेल घोषणा गरेको सम्मानमा प्रतियोगिताको नाम ‘प्रचण्ड कप’ राखिएको जानकारी दिए। “गणतन्त्र, प्रचण्ड र भलिबलबीचको संयोजनका रूपमा यो कार्यक्रम अघि सारेका हौं,” उनले भने।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का बोर्ड सदस्य अन्जन धमला, प्रकाशकुमार कुसारी, र नेपाल भलिबल संघका उपाध्यक्ष याम गुरुङको समेत उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्