
काठमाडौं, जेठ २१
नेपाल पौडी संघको आयोजनामा दोस्रो संस्करणको नेपाल अक्वाटिक्स च्याम्पियनसिप जेठ २४ र २५ गते सातदोबाटो, ललितपुरस्थित बाहिरी पौडी पोखरीमा आयोजना हुने भएको छ।
संघका अनुसार प्रतियोगितामा तीन सयभन्दा बढी खेलाडीले सहभागिता जनाउनेछन्। प्रतियोगिता उमेरसमूह र खुला वर्गमा गरी ५३ विधामा सञ्चालन हुनेछ। प्रतियोगिताका लागि अनलाइन प्रणालीमार्फत खेलाडीहरूको दर्ता भइसकेको छ र सम्पूर्ण तयारी पूरा भएको नेपाल पौडी संघका सचिव गंगालाल गोलेले जानकारी दिए।
प्रारम्भ सचिव लम्सालबाट, समापनमा घिसिङ प्रमुख अतिथि
प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरी लम्सालले गर्नेछन् भने समापन समारोहमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ प्रमुख अतिथिका रूपमा उपस्थित हुने संघले जनाएको छ।
टिकट प्रणाली लागू, दोस्रो दिनको फाइनल टिकट सकिएको
दर्शकका लागि प्रतियोगिता अवलोकन गर्न टिकट प्रणाली लागू गरिएको छ। दोस्रो दिन हुने फाइनल खेलका लागि उपलब्ध सबै टिकट बिक्री भइसकेको नेपाल पौडी संघले जानकारी दिएको छ। प्रतियोगिता संयोजक एवं महासचिव ईश्वरकुमार कार्कीका अनुसार भिआईपी प्याराफिटका लागि मात्र टिकट राखिएको छ, जसको मूल्य २ सय रुपैयाँ तोकिएको छ।





