
काठमाडौं, २१ जेठ
नेपाली कांग्रेसका उपसभापति तथा पूर्व कानुनमन्त्री धनराज गुरुङले जातको आधारमा गरिने विभेद अन्त्य गर्न राज्यले विभेद गर्नेहरूलाई कानुनअनुसार कडा कारबाही गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिंदै गुरुङले जातले मानिसको मूल्य निर्धारण नहुने कुराप्रति सबैलाई जागरुक बनाउनु आवश्यक रहेको बताए।
उहाँले लेख्नुभएको छ, “जबसम्म राज्यले जातको नाममा विभेद गर्नेहरूलाई कानून बमोजिम दण्डित गर्दैन, तबसम्म जातीय विभेदको अन्त्य केवल नारामा सीमित रहन्छ। आज जातीय भेदभाव तथा छुवाछूत मुक्त घोषणा दिवसको सन्दर्भमा ‘जातले मान्छे ठूलो वा सानो कहिल्यै हुँदैन’ भन्ने चेतना सबैमा फैलियोस् भन्ने शुभकामना व्यक्त गर्दछु।”
गुरुङको भनाइ अनुसार, कानुनी दण्ड बिना जातीय विभेदविरुद्धका प्रयासहरू प्रभावकारी बन्न सक्दैनन् र सामाजिक रूपान्तरणका लागि व्यवहारमा देखिने प्रतिबद्धता आवश्यक छ।





