एचजेबीएलमा टाइम्स र रोएल विजयी, फाइनल दौडमा रोमाञ्चक मोड



२० जेठ, काठमाडौं

हिमालयन जाभा बास्केटबल लिग (HJBL) अन्तर्गत मंगलवार भएको खेलमा टाइम्स बास्केटबल क्लब र रोएल बास्केटबल क्लब विजयी भएका छन्।

कीर्तिपुर कभर्ड हलमा सम्पन्न पहिलो खेलमा टाइम्सले सामाखुशी युथ क्लबलाई ९७–७३ को फराकिलो अन्तरले पराजित गर्दै फाइनल दौडमा आफूलाई प्रतिस्पर्धी बनाएर राखेको छ।

टाइम्सले खेलको सुरुदेखि नै दबाब कायम राख्दै पहिलो क्वाटर २०–१५, दोस्रो क्वाटर २८–२४, तेस्रो क्वाटर २३–२१ र चौथो क्वाटर २५–१३ ले आफ्नो पक्षमा पार्‍यो। खेलमा टाइम्सका सदिश प्रधानले सर्वाधिक ३३ अंक जोडे भने मनिष केसी ‘मोस्ट भ्यालुएबल प्लेयर’ (MVP) घोषित भए। सामाखुशीका लागि प्रज्वल महर्जनले २१ अंक बनाए।

यस जितसँगै टाइम्सले ९ खेलमा १५ अंक जोडेको छ। समान अंक रहेका गोल्डेनगेट बास्केटबल क्लब र हाउण्ड्स एकेडेमीले एक खेल कम खेलेका छन्। टाइम्सले अब लिग चरणको अन्तिम खेल हाउण्ड्ससँग खेल्नेछ।

दोस्रो खेलमा रोएलले कीर्तिपुर बास्केटबल क्लबलाई ९९–९६ को रोमाञ्चक जित दर्ता गर्‍यो। खेलको पहिलो क्वाटरमा कीर्तिपुरले २६–२५ को अग्रता लिएपनि दोस्रो क्वाटरमा रोएलले २८–२१ को नतिजा निकाल्दै हाफटाइमसम्म ५३–४७ को अग्रता बनायो।

तेस्रो क्वाटरमा रोएलले २०–१७ को नतिजा निकालेको थियो भने चौथो क्वाटरमा कीर्तिपुरले ३२–२६ को अग्रता लिएर खेल बराबरीमा ल्यायो। तर निर्णायक क्षणमा रोएलका सुजन महर्जनले थ्री प्वाइन्ट स्कोर गर्दै टोलीलाई ९९–९६ को जित दिलाए। सुजन ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए।

रोएलका प्रसाङ ध्वज मास्केले ३१ अंक जोडे भने कीर्तिपुरका निश्चल महर्जनले सर्वाधिक ३३ अंक बनाए। तेस्रो जितसँगै रोएलले ९ खेलबाट १२ अंक जोड्दै कीर्तिपुरलाई पछि पार्दै लिगको चौथो स्थानमा उक्लिएको छ।

लिगअन्तर्गत बुधबार गोल्डेनगेट बास्केटबल क्लब र हाउण्ड्स एकेडेमीबीच शीर्ष स्थानका लागि प्रतिस्पर्धा हुनेछ।

प्रतिक्रिया दिनुहोस्