
नेपालका कीर्तिमानी धावक तथा ओलम्पियन वैकुण्ठ मानन्धर मंगलबार सम्मानित भएका छन्। नेपालको पहिलो साइकल पसल ‘प्याङ्क बाइक’ ले आफ्नो १००औं वार्षिकोत्सवको अवसरमा उनलाई विशेष समारोहबीच सम्मान गरेको हो।
काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा प्याङ्क बाइकले “बैकुण्ठ मानन्धर २:१५:०३ लिमिटेड एडिसन” नामक विशेष साइकल सार्वजनिक गरेको छ। यो साइकल सन् १९८७ को दक्षिण एसियाली खेलकुदमा मानन्धरले म्याराथन दौड पूरा गरेको समयको स्मरणमा नामकरण गरिएको हो।
मानन्धरलाई सो साइकल हस्तान्तरण गर्दै, उनलाई उक्त साइकलको बिक्रीबाट हुने आम्दानीको हिस्सा दिने निर्णय पनि गरिएको छ। उनले भने, “यो साइकल मेरो सम्मान मात्र होइन, अर्को वैकुण्ठ मानन्धर जन्माउने प्रेरणा पनि हो।”





