
काठमाडौँ, जेठ १९
नेपाली सेना र भारतीय सेनाको संयुक्त सहभागितामा सम्पन्न भएको कञ्चनजङ्घा हिमाल आरोहण–२०२५ को Flag-In Ceremony आज जङ्गी अड्डामा एक भव्य समारोहका साथ सम्पन्न भएको छ।

समारोहका प्रमुख अतिथि, माननीय रक्षा मन्त्री श्री मानवीर राईलाई आरोहण दलका टिम लिडरहरूले सफल आरोहणको प्रतीक स्वरूप झन्डा हस्तान्तरण गरेका थिए। कार्यक्रममा रक्षा मन्त्री राईले आरोहण टोलीलाई बधाई दिँदै राष्ट्रको गौरव बढाउने यो अभियान ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे।

कार्यक्रमको शुभारम्भ युद्धकार्य विभागका प्रमुख उपरथी प्रेमध्वज अधिकारीको स्वागत मन्तव्यबाट गरिएको थियो। त्यसपछि भारतीय सेनाको प्रतिनिधिमण्डल नेतृत्व गरिरहेका लेफ्टिनेन्ट जनरल अजय राम देवले पनि आरोहण सफल पार्ने टोलीलाई शुभकामना तथा बधाई प्रकट गरे।
संयुक्त टोलीमा नेपाली सेनाबाट १० र भारतीय सेनाबाट ५ जना गरी जम्मा १५ सदस्य थिए। उनीहरूले मिति २०८२ साल जेठ ५ र ६ गते विश्वको तेस्रो अग्लो शिखर कञ्चनजङ्घाको सफल आरोहण गरेका थिए।
यस अभियानको सुरुवात २०८१ साल चैत २१ गते भारतको नयाँ दिल्लीमा आयोजित Flag-Off Ceremony बाट भएको थियो, जसमा भारतीय रक्षा मन्त्रीको उपस्थिति रहेको थियो।

आजको समारोहमार्फत् यो अभियानको औपचारिक समापन गरिएको हो। कार्यक्रममा नेपालका लागि भारतीय महामहिम राजदूत, नेपाली सेनाका बलाध्यक्ष, उच्चपदस्थ रथीवृन्द, विभिन्न मन्त्रालयका प्रतिनिधिहरू, ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (TAAN) का प्रतिनिधिहरू, सञ्चारकर्मीहरू तथा आरोहण टोलीका सदस्यहरूको उपस्थिति रहेको थियो।
यो अभियान नेपाल-भारत मैत्री सम्बन्धको प्रतीक मात्र नभई, दुवै देशका सेनाबीचको सहकार्य, साहस र दृढसंकल्पको उत्कृष्ट उदाहरण बनेको छ।





