
काठमाडौं, जेठ १९ — काठमाडौं महानगरपालिका वडा नं. ७ को आयोजनामा चावहिलमा जारी तेस्रो वडा अध्यक्ष कप अन्तर्गतको छात्र अन्तरविद्यालय फुटबल प्रतियोगितामा एनआईसी एकेडेमीले शानदार प्रदर्शन गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
सोमबार सम्पन्न खेलमा एनआईसी एकेडेमीले नोब्स विद्यालयलाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गर्यो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका सुनिश्चित बस्नेतलाई ‘म्यान अफ द म्याच’ घोषित गरियो।
अन्य क्वार्टरफाइनल खेलहरूमा मनास्लु विद्यालयले विनायकलाई ५–१ ले, पशुपति ‘बी’ ले हिलारीलाई १–० ले र किन्सले बाल व्यवसायीलाई पेनाल्टी सुटआउटमा ३–२ ले हराउँदै अन्तिम चारमा स्थान बनाए। मनास्लुका अभिषेक रिजाल, पशुपति ‘बी’ का दिनेश लोहार, र किन्सका अनिश राईले क्रमशः आफ्ना खेलमा ‘म्यान अफ द म्याच’ बन्ने गौरव प्राप्त गरे।





