
काठमाडौँ । फिलिपिन्सको मनिला शहरमा सम्पन्न अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘रनवे मोडल युनिभर्स २०२५’मा नेपालका रोनिश खड्गीले फर्स्ट रनरअपको उपाधि हात पारेका छन्। प्रतियोगिता मे २३ देखि ३१ तारिखसम्म आयोजना गरिएको थियो, जहाँ ३० भन्दा बढी देशका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

नेपालका तर्फबाट एक्ला प्रतिस्पर्धी रहेका खड्गीले प्रतियोगितामा नेपाली कला र संस्कृति प्रस्तुत गरेका थिए। उनी ‘मोडल हन्ट नेपाल २०२३’ का विजेता समेत हुन्।
त्यस्तै, फिलिपिन्समै आयोजना गरिएको अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता ‘म्यान अफ द वर्ल्ड २०२५’ मा नेपालका आयुष दुलालले उत्कृष्ट १० मा स्थान बनाउन सफल भएका छन्। दुलाल ‘मिस्टर नेपाल २०२४’ मार्फत ‘म्यान अफ द वर्ल्ड नेपाल २०२४’ का उपाधि विजेता बनेका थिए।

यी दुवै प्रतियोगीलाई नेक्स्ट मोडल्स नेपालले प्रतिनिधित्व गराएको थियो। संस्थाका सिइओ रवि धमलाले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली प्रतिनिधिहरूले हासिल गरेको सफलताले आगामी प्रतियोगीहरूलाई थप हौसला र प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।





