काठमाडौं घोषणा पत्र जारी गर्दै आईएसटीयूको ७औं महाधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन



काठमाडौं, १८ जेठ

संस्थागत विद्यालय शिक्षक युनियन (आईएसटीयू) को ७औं राष्ट्रिय महाधिवेशन राजधानी काठमाडौंमा सम्पन्न भएको छ। महाधिवेशनले होमकुमार थापाको अध्यक्षतामा ६१ सदस्यीय राष्ट्रिय समिति चयन गरेको छ।

नवनिर्वाचित समितिमा डा. मोतिराम फुँयाल, देवीदत्त पौडेल र केवशराज पाठक सहअध्यक्षका रूपमा चयन भएका छन्। वरिष्ठ उपाध्यक्षमा नारायण पौडेल र सरिता निरौला नियुक्त भएका छन् भने अर्का एक जना उपाध्यक्ष पछि मनोनयन गरिनेछ। महासचिवको जिम्मेवारी भुपाल उप्रेतीले पाएका छन्।

महाधिवेशनबाट १४ बुँदे काठमाडौं घोषणा पत्र जारी गरिएको छ। अध्यक्ष थापाका अनुसार घोषणापत्रमा संस्थागत विद्यालयका शिक्षक–कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष कार्यक्रममा अनिवार्य रूपमा दर्ता गराई तिनको योगदान रकम कानूनअनुसार कट्टा गर्नुपर्ने माग गरिएको छ।

त्यस्तै, संस्थागत विद्यालयहरूमा कार्यरत शिक्षक तथा कर्मचारीलाई सरकारले तोकेको न्यूनतम तलब, सबै प्रकारका बिदा र अन्य सुविधा अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने माग पनि उठाइएको छ।

साविक शिक्षा ऐन र नियमावलीअनुसार विद्यालय व्यवस्थापन समिति र शिक्षक–अभिभावक सङ्घ गठन गर्नुपर्ने, तथा विद्यालय सञ्चालन विनियमावली ऐनसँग नबाझिने गरी बनाइनुपर्ने प्रस्ताव पनि पारित गरिएको छ।

घोषणापत्रमा शिक्षकहरूको पेसागत विकासका लागि आवश्यक तालिम तथा व्यवस्थाको माग गरिएको छ। साथै निजी लगानीमा सञ्चालित विद्यालयहरूको स्थायित्वका लागि वास्तविक लगानीको संरक्षण र प्रवर्द्धन, विद्यालयस्तरीय आयोग, समिति, सेमिनार, गोष्ठी, शिक्षक तालिम आदिमा युनियनको अनिवार्य सहभागिता सुनिश्चित गर्नुपर्ने माग समेत गरिएको छ।

आईएसटीयूले निजी विद्यालयको प्रभावकारी नियमन, अनुगमन र आवश्यक कारबाहीका लागि अधिकार प्राप्त संयन्त्र निर्माण गर्नुपर्ने सुझाव पनि अघि सारेको छ।

प्रतिक्रिया दिनुहोस्