
शनिबार स्वयम्भूस्थित धर्मचक्र पार्क (भगवान पाउ पार्क) मा एनिमल सेभ नेपालको आयोजनामा राष्ट्रिय पशुपंक्षी अधिकार दिवस (नार्ड) विशेष श्रद्धाञ्जलीका साथ मनाइयो। कार्यक्रमको सुरुआत मानवद्वारा मारिएका पशुपंक्षीहरूको सम्झनामा दुई मिनेटको मौनधारणबाट भयो। त्यसपछि दिवा प्रज्वलन गरी मृत पशुपंक्षीहरूको तस्वीरमा फूल चढाइ श्रद्धाञ्जली अर्पण गरियो।

कार्यक्रममा वक्ताहरूले पशुपंक्षीलाई दुःख नदिई जीवन जिउन सकिने, मासु तथा अन्य जनावरजन्य उत्पादनहरूबिना पनि जीवन सम्भव हुने विचार प्रस्तुत गरे। सहभागीहरूलाई शाकाहारी जीवनशैली र यसबारे नेपालसहित विश्वभर भइरहेको प्रगतिबारे जानकारी दिइयो। उल्लेखनीय छ, पशुहिंसाबारे जनचेतना क्रमशः बढ्दै गएको र कानुनी सुधारहरू समेत देखिन थालेका छन्।
कार्यक्रमको सुरुआत स्वयम्भू गेटस्थित बुद्ध पार्कबाट भगवान पाउ पार्कसम्मको शान्तिपूर्ण मौन पदयात्राबाट भयो। पशु अधिकारकर्मी र सहानुभूति राख्ने व्यक्तिहरूले एकजुट भई पशुपंक्षी अधिकारको पक्षमा आवाज उठाए।

पार्कमा पुगेर सहभागीहरूले जनावरका पीडा उजागर गर्ने कथा र कविता वाचन गरे। मौनधारण, फूल अर्पण र दियो बाल्ने कार्यक्रमसँगै पशु अधिकार घोषणापत्र पनि वाचन गरियो। सहभागीहरूले क्रूरता रहित जीवनशैली अपनाउने प्रतिबद्धता जनाउँदै घोषणापत्रमा हस्ताक्षर गरे।
कार्यक्रममा नेपाल साकाहारी संघका अध्यक्ष कृष्ण गुरुङको गीत प्रस्तुति तथा रघु आदित्यद्वारा लिखित पुस्तक ‘शाकाहार तर्काधार’ को विमोचन पनि गरियो। अन्त्यमा कथाघेरा प्रोडक्सनले जोर्ज अर्वेलको ‘एनिमल फार्म’मा आधारित एक विशेष गीत प्रस्तुत गर्यो।

यस वर्षको नार्डमा लभिङ हार्ट भिगन रेस्टुरेन्ट, वाइट लोटस, भिगन हाउस, सारा बेक्स भिगन, बेटर ब्याटर भिगन, सो भिगन जस्ता संस्थाहरूको सक्रिय सहभागिता रह्यो।
नार्डबारे संक्षिप्त जानकारी
राष्ट्रिय पशुपंक्षी अधिकार दिवस (नार्ड) संसारभर विभिन्न शहरहरूमा मनाइने एक वार्षिक उत्सव हो, जसको उद्देश्य जनावर अधिकारबारे चेतना फैलाउनु हो। यो दिवस मानवद्वारा मारेका अरबौँ जनावरहरूको सम्झनामा, उनीहरूको पीडा र शोषण उजागर गर्न, भिगन जीवनशैलीको फाइदाबारे जनतालाई शिक्षित गर्न र पशु अधिकार अभियानको प्रगतिलाई उत्सवको रूपमा मनाउने लक्ष्य राखिएको छ। सन् २०२५ मा नार्ड ५० भन्दा बढी देशका १५० भन्दा बढी शहरमा आयोजित गरिएको थियो।





