सुशील विश्वकर्माले ल्याए एकसाथ दुई गीत — ‘पछ्यौरीको छेउ’ र ‘भुतुक्क भएँ नी’



काठमाडौँ, १७ जेठ

लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका गायक तथा संगीतकार सुशील विश्वकर्मा नेपाल आएका बेला दुईवटा नयाँ गीत एकैसाथ दर्शकमाझ ल्याएका छन्।

वरिष्ठ गायिका मिरा राणा र वरिष्ठ संगीतकार दीपक जंगमले दुवै गीतको पोस्टर सार्वजनिक गर्दै औपचारिक रूपमा विमोचन गरेका हुन्। कार्यक्रममा ‘पछ्यौरीको छेउ’ र ‘भुतुक्क भएँ नी’ दुई गीतका भिडियोसमेत सार्वजनिक गरियो, जसलाई गायक सुशीलकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

‘भुतुक्क भएँ नी’ बोलको गीतमा राजेश गुरुङको रचना, महेश थुलुङको स्वर, र संगीत स्वयं सुशील विश्वकर्माले भरेका छन्। रोमाञ्चक भावमा बनेको यस गीतको भिडियोमा अभिनेता यसराज गराच र मोडल सुस्मिता बुढाथोकीको अभिनय देख्न सकिन्छ।

त्यस्तै, अर्को गीत ‘पछ्यौरीको छेउमा’ सुशीलले आफैं गाएका छन् जहाँ उनलाई गायनमा बिबी अनुरागीले साथ दिएकी छन्। हेमन्त विवशद्वारा रचित गीतले नदी किनारमा गिट्टी कुट्दै जीवन यापन गरिरहेका मजदुरहरूको कथा बोलेको छ।

यस गीतको भिडियोमा गोविन्द प्रभात, निरु खडका, कृष्ण रसाल, रोशन श्रेष्ठ र श्रेया नापितको अभिनय छ। दुवै भिडियोको निर्देशन कृष्ण रसालले, कोरियोग्राफी केशव कोइरालाले, छायांकन तथा सम्पादन राजेन्द्र पाण्डेले गरेका हुन्।

भिडियो निर्देशक रसालले दुबै गीत फरक शैलीमा भएकाले निर्देशन अनुभव पनि फरक रहेको बताए। गायक सुशीलको संगीत र गायनको प्रशंसा गर्दै उनले गीतहरू निकै मन छुने भएको बताए।

कार्यक्रममा गायिका लोचन भट्टराईले सुशीलको गायनको प्रशंसा गरिन् भने गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाले संगीत र गायन दुवै पक्षमा उनको योगदान उत्कृष्ट रहेको बताए।

संगीतकार दीपक जंगमले गीतहरू सुन्दा श्रोतालाई आनन्द आउने खालका भएको बताउँदै सुशीललाई यस्ता सिर्जनामा निरन्तर लागिरहन सुझाव दिए। उनले निर्देशक रसालले भिडियोमा गीतको भावनालाई जीवन्त रूपमा उतारेको प्रशंसा पनि गरे।

कार्यक्रमको प्रमुख अतिथि मिरा राणाले रेडियो नेपालको समूह गायनबाट एकल गायनमा आएका सुशीलले अहिलेको समयमा झनै प्रभावशाली गीत गाउन थालेको बताउँदै गायन र संगीत दुवैमा निरन्तर लागिरहन सल्लाह दिइन्।

गायक सुशीलले अमेरिकामा रहे पनि नेपाली संगीतलाई प्रवर्द्धन गर्दै, नयाँ पुस्तालाई संगीत सिकाउने कार्यमा संलग्न रहेको बताए। जहाँ भए पनि संगीत सिर्जना र गायनलाई निरन्तरता दिने अठोट उनले कार्यक्रममा व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्