
काठमाडौं, १७ जेठ।
नेपाली कांग्रेसकी सांसद नागिना यादवले प्रतिपक्षी दलहरूले कांग्रेस–एमाले गठबन्धन तोड्ने उद्देश्यले गृहमन्त्री रमेश लेखकलाई बदनाम गर्दै राजीनामा मागेको आरोप लगाइन्। शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा यादवले भनिन्, “रमेश लेखक पूर्ण रूपमा निर्दोष छन्। अहिलेसम्म उहाँमाथि कुनै उजुरी दर्ता भएको छैन, अख्तियारले बयानका लागि बोलाएको पनि छैन, नाम कतैसमेत देखिएको छैन। त्यसैले गृहमन्त्री लेखकले राजीनामा दिनु पर्ने अवस्था छैन।”
यादवले अध्यागमन विभागका डीआईजी तीर्थराज भट्टराईमाथि अहिलेसम्म जांच नलागेको उल्लेख गर्दै, “डीआईजी भट्टराईको मोबाइल र डायरी मात्र नियन्त्रणमा राखियो तर अख्तियारले उनलाई छोडिदियो। विपक्षी दलहरू गृहमन्त्रीमाथि अवास्तविक आरोप लगाएर स्टन्टबाजी गरिरहेका छन्,” भनिन्।
प्रतिपक्षीलाई सत्ता प्रेमले ग्रस्त रहेको भन्दै यादवले भनिन्, “विपक्षीले राजीनामा मागेका कारण गठबन्धनमा दरार ल्याउन खोजिएको छ। कतिपय नेताहरूले यो बहानामा रवि लामिछानेको प्रतिशोध पनि लिन खोजिरहेका छन्, त्यो पूर्णतया निराधार हो। रवि लामिछाने र रमेश लेखकबीच मुद्दा–प्रकरणमा ठूलो भिन्नता छ।”
उनी संघीय लोकतान्त्रिक गणतन्त्र विकल्परहित व्यवस्था भएको भन्दै फर्काउने हो भने चुनावमार्फतै दुई तिहाइ बहुमत हासिल गरी अघि बढ्नुपर्ने बताइन्। “सडकबाट राजसंस्था फर्कने अवस्था छैन,” उनले दाबी गरिन्।
यादवले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटलाई पनि समग्रमा सकारात्मक मूल्यांकन गर्दै, “सरकारले कर प्रणाली सुधार र लगानी प्रवाहमा जोड दिएको छ। यद्यपि बजेटमार्फत हुने न्यायोचित वितरण केही कमजोर देखिन्छ, त्यो पक्षमा सुधार आवश्यक छ,” सुझाव दिइन्।





