
काठमाडौं, १७ जेठ।
नेकपा (एमाले) का नेता माधव ढुङ्गेलले प्रतिपक्षी दलहरूले प्रतिशोधका आधारमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको आरोप लगाउँदै यसले आगामी दिनका लागि गलत उदाहरण सिर्जना गर्नसक्ने चेतावनी दिएका छन्। शनिबार रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कारमा ढुङ्गेलले भन्यो, “रास्वपाले आफ्ना सभापतिको मुद्दाको प्रतिशोध ओढेर काम गरेको जस्तो देखिन्छ। रमेश लेखकको विषय कर्मचारीसँग जोडिएको मात्र हो, मुद्दा त दर्ता नै भएको छैन। यस्तो अवस्थामा कुनै मन्त्रीलाई त्यही आधारमा हटाउने हो भने त्यो राम्रो उदाहरण हुनेछ र होइन, त्यसलाई ख्याल गर्नु जरूरी छ।”
ढुङ्गेलले व्यक्तिगत रूपमा लेखकलाई इमानदार व्यक्ति भएको दाबी गर्दै भने, “उहाँको विरुद्धमा उजुरी वा मुद्दा परेको छैन भने नैतिकताको प्रश्न उठ्छ। अहिले साँच्चिकै एउटा कर्मचारीमाथि मुद्धा नै दर्ता भएको छैन।”
उनले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट समग्रमा राम्रो भएको र विपक्षी दलहरूले पनि त्यसमा कटु आलोचना नगरेको बताए। “माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, अरू कुनै पार्टीले पनि यसमा आलोचना गरेको मैले सुनेको छैन। बजेटमा खर्च केही प्रतिशतले बढाइएको छ। स्रोतको चुनौतिलाई सहनसक्षम बनाएर बजेट प्रस्तुत गरिएको छ।”
ढुङ्गेलले सरकारको त्रैमासिक नीति–क्यालेण्डर बनाउने व्यवस्था नसकिँदा काममा ढिलासुस्ती भएको र कार्यान्वयनमा चुनाैती देखिएको स्वीकारे। “वर्तमान खर्चअनुरूपको विकास र गुणस्तर पर्याप्त छैन। ऐन कानुनहरू पर्याप्त छैनन्, भएका कानुनहरू समयानुकूल संशोधन हुन सकेका छैनन्। कानुनी रूपमा शक्तिशाली संयन्त्र निर्माण गर्नु जरूरी छ,” उनले भने।
त्यस्तै, राजावादीहरूले चलाइरहेकै राजसंस्था फर्काउने आन्दोलनलाई अत्यधिक महत्व दिनु आवश्यक नरहेको नेता ढुङ्गेलले बताए। “राजतन्त्र अन्त्य भइसकेको छ र अब वंशीय शासन फर्कने सम्भावना छैन,” उनको निष्कर्ष थियो।





