गृहमन्त्री लेखकको राजीनामा नआएसम्म सदन चल्न दिँदैनौं : अमनलाल मोदी



काठमाडौं, १७ जेठ।
नेकपा (माओवादी केन्द्र) का नेता तथा पूर्वमन्त्री अमनलाल मोदीले गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणमा उठेको प्रश्नलाई गम्भीर बताउँदै उनी पदबाट राजीनामा नदिएसम्म संसद् सञ्चालन गर्न नदिने चेतावनी दिएका छन्।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता मोदीले गृहमन्त्रीमाथि उठेका प्रश्नहरू सामान्य नभएको बताए। उनले भने, “गृहमन्त्रीमाथि अहिले जुन किसिमले प्रश्न उठेको छ, यो सामान्य प्रश्न होइन। सामान्य भएको भए हामी संसद् अवरुद्ध गर्दैनथियौं।”

राजीनामाको परम्परा स्मरण
मोदीले अघिल्लो संसदमा केही मन्त्रीहरूविरुद्ध गम्भीर प्रश्न उठेपछि उनीहरूले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएको उदाहरण प्रस्तुत गरे। उनले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले निष्पक्ष छानबिनको लागि राजीनामा दिएको प्रसंग उल्लेख गरे। एमालेका केही मन्त्रीहरूले पनि छानबिन अगावै पदबाट अलग्गिएर मार्गप्रशस्त गरेको उनले स्मरण गराए।

लेखक स्वयंले बोलेको सम्झाइ
गृहमन्त्री लेखकले स्वयं विगतमा विपक्षी नेताका रूपमा मन्त्रीमाथि प्रश्न उठेमा राजीनामा दिनुपर्ने धारणा राखेको भन्दै मोदीले लेखकलाई आफ्नै भनाइ सम्झाइदिए। उनले भने, “उहाँले अघिल्लो संसदमा मन्त्रीमाथि आचरणको प्रश्न उठेपछि राजीनामा दिनुपर्छ भनेका थिए। अहिले आफैंमाथि प्रश्न उठ्दा भने त्यो कुरा कर्मचारीमा मात्र थोपर्ने प्रयास भइरहेको छ।”

सत्ता गठबन्धनमाथि प्रश्न
सरकारले अख्तियारका डिआईजीको सरुवा प्रकरण यथावत राखेको विषयमा प्रश्न उठाउँदै मोदीले सरकारकै नीयतप्रति शंका व्यक्त गरे। उनले भने, “भ्रष्टाचारविरुद्ध संघर्ष गर्ने भन्दै बनेको सरकारले अहिले उल्टै संरक्षण गरिरहेको छ।”

गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसद्मा अवरोध कायम रहने उनले स्पष्ट पारे। “हामी सदन चल्न दिन्नौं। प्रमाणहरू नष्ट हुन सक्ने र छानबिन प्रभावित हुनसक्ने भएकाले गृहमन्त्रीको राजीनामा अनिवार्य छ,” उनले चेतावनी दिए।

ओलीको अभिव्यक्तिप्रति आपत्ति
प्रधानमन्त्री केपी शर्मा ओलीले लेखकमाथि उठेको प्रश्नलाई गम्भीर नमानिएको संकेत गर्दै दिएको अभिव्यक्तिप्रति पनि मोदीले आपत्ति जनाए। “आफ्नै मन्त्रीमाथि यत्रो गम्भीर प्रश्न उठ्दा प्रधानमन्त्री बचाउमा उत्रिनु दु:खद हो,” उनले भने।

पूर्वाग्रह नरहेको स्पष्टिकरण
गृहमन्त्री लेखकप्रति व्यक्तिगत आग्रह वा पूर्वाग्रह नभएको भन्दै मोदीले सरकारमा जान वा सत्ता सन्तुलनमा चासो नरहेको बताए। “हामीलाई सरकार चाहिएको छैन। तर भ्रष्टाचारको विरुद्ध लड्ने हाम्रो अडान छ,” उनले स्पष्ट पारे।

भ्रष्टाचारका अन्य मुद्दा पनि उठाए
मोदीले गिरिबन्धु टी–स्टेट, पोखरा विमानस्थल लगायतका भ्रष्टाचार प्रकरणहरूको पनि उल्लेख गर्दै ती विषयमा कारबाहीको माग गरिसकेको बताए। अहिलेको सरकारले दलाल र बिचौलियालाई फाइदा हुने काम गरिरहेको आरोप पनि उनले लगाए।

राजसंस्थाको पुनरागमन असम्भव
राजसंस्थाबारे बोल्दै उनले भने, “राजतन्त्र अन्त्य भइसकेको छ। अब फेरि फर्किने सम्भावना छैन। केही अवशेष मात्रै बाँकी छन्।”

बजेटप्रति असन्तुष्टि
दुई तिहाईको सरकार भए पनि बजेटले जनअपेक्षा नपुगेको मोदीको आरोप छ। “बजेटले रोजगारी सिर्जना गर्दैन, दलाल र बिचौलियालाई फाइदा पुर्‍याउने खालको छ,” उनले बताए।

अन्त्यमा, गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म सदन चल्न नदिने अडान दोहोर्याउँदै उनले कांग्रेस र प्रधानमन्त्रीलाई न्यायाधीशझैं मन्त्रीको बचाउ गर्नु अस्वीकार्य रहेको बताए। “प्रधानमन्त्री वा कांग्रेस अदालत होइनन्, उनीहरूले निर्दोष ठहर गर्न सक्दैनन्,” उनले टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस्