
काठमाडौं, १७ जेठ
निर्देशक रमेश कोइरालाको निर्देशनमा निर्माणाधीन नेपाली फिल्म ‘बिगुल’ को छायांकन चितवनका विभिन्न स्थानमा तीव्र गतिमा भइरहेको छ। बैशाख अन्तिमदेखि सुरु गरिएको छायांकन हाल अन्तिम चरणमा पुगेको निर्देशक कोइरालाले जानकारी दिएका छन्।

“अत्यधिक गर्मीका बाबजुद पनि छायांकन सहज रूपमा अगाडि बढिरहेको छ,” निर्देशक कोइरालाले बताए, “चितवनको सुटिङ अन्त्यतिर छौं। अब बाँकी दुईवटा गीत र केही दृश्य काठमाडौंमा खिचिनेछन्।”
दिनेश कोइरालाको कथामा आधारित ‘बिगुल’ सामाजिक सन्देश बोकेको फिल्म हो। फिल्ममा बेनीशा हमाल र नरेन खड्कासँगै विनोद न्यौपाने, नीर शाह, रविन्द्र खड्का, रमेश बुढाथोकी, गीता अधिकारी, सरोज खनाल, शिशिर वाङ्देल, ईश्वरी बराल तथा नव अभिनेत्री मिरा पण्डित मुख्य भूमिकामा देखिनेछन्। मनोरञ्जनको साथसाथै समाजप्रतिको गहिरो सन्देश बोकेको भनिएको यो फिल्म दर्शकको रुचिमा पर्न सक्ने अपेक्षा निर्माण पक्षले राखेको छ।

बिगुल म्याग्नोलिया ग्रुपको ब्यानरमा निर्माण भइरहेको हो। फिल्मका निर्माता महेश कोइराला र सूर्यकान्त कोइराला हुन् भने प्रस्तुतकर्ता कल्पना पौडेल रहेकी छन्।
फिल्ममा नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्मा, संगीतकार अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको छ। गीतहरूको कोरियोग्राफी चर्चित नृत्य निर्देशक कमल राई र कविराज गहतराजले गर्नेछन्। शिव ढकालले छायांकनको जिम्मेवारी सम्हालिरहेका छन् भने द्वन्द्व निर्देशन एन.बी. महर्जनको रहेको छ। मौनता श्रेष्ठको पटकथा र श्याम केसीको निर्माण व्यवस्थापनमा निर्माण टिम सक्रिय रहेको छ।
निर्माण टिमले ‘बिगुल’ फिल्म दर्शकमाझ २०८२ सालभित्रै सार्वजनिक गर्ने लक्ष्य राखेको छ।





