
काठमाडौं, जेठ १६
नेपाल गल्फ संघको आयोजनामा ११औं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप आगामी मङ्गलबारदेखि सुरु हुँदैछ। ७२-पारको गोकर्ण फरेष्ट गल्फ क्लबमा हुने यो प्रतियोगिता विहीबारसम्म सञ्चालन हुनेछ।
तीन दिनसम्म चल्ने ५४ होलको यो प्रतिस्पर्धामा नेपालसहित दक्षिण एसियाका पाँच देश—बङ्गलादेश, भुटान, श्रीलंका, भारत र आयोजक नेपाल—का खेलाडीहरूले सहभागिता जनाउने छन्। संघका महासचिव दीपक आचार्यका अनुसार प्रतियोगितामा हालसम्म ४५ जना पुरुष र १० जना महिला खेलाडीको सहभागिता पुष्टि भइसकेको छ। यद्यपि, आइतबारसम्म नाम दर्ता खुला रहेकोले सहभागी संख्या अझ बढ्न सक्ने सम्भावना छ।
पुरुषतर्फ व्यक्तिगत र टिम दुवै स्पर्धा समावेश गरिनेछ। टिम स्पर्धामा प्रत्येक देशबाट दुई-दुई खेलाडी छनोट गरिनेछन् र ३६ होलसम्मको संयुक्त स्कोरका आधारमा विजेता टिम घोषणा गरिनेछ। आयोजक नेपालले दुई टिम सहभागी गराउनेछ — ‘ए’ टिममा शीर्ष एमेच्योर गल्फर सदभाव आचार्य र राष्ट्रिय टोलीका सदस्य राहुल विश्वकर्मा रहने पक्का भइसकेको छ भने ‘बी’ टिमको अन्तिम टुङ्गो आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको थियो।
व्यक्तिगत प्रतिस्पर्धामा नेपालबाट अनुमानित ३० देखि ३५ खेलाडी सम्मको सहभागिता रहनेछ। भारतबाट २ महिला सहित १० जना, श्रीलंकाबाट ४, बङ्गलादेश र भुटानबाट २-२ जना खेलाडीको सहभागिता रहनेछ। नेपाली खेलाडीहरूमा कोशी र गण्डकी प्रदेशबाट ६-६ जनाको छनोट भइसकेको छ भने बाँकी खेलाडी बागमती प्रदेशबाट रहनेछन्।
प्रतियोगिताको पुरुष व्यक्तिगत स्पर्धामा ३६ होलपछि कट लागू गरिनेछ, जसमा उत्कृष्ट ६० प्रतिशत खेलाडीले अन्तिम १८ होलका लागि स्थान सुरक्षित गर्नेछन्। महिला स्पर्धामा नेपाल र भारतका खेलाडीहरू प्रतिस्पर्धामा उत्रनेछन्।
नेपाल एमेच्योर ओपन च्याम्पियनसिप वर्ल्ड एमेच्योर गल्फ र्याङ्किङ (WAGR) द्वारा मान्यता प्राप्त प्रतियोगिता हो। यस प्रतियोगितामा सहभागी पुरुष तथा महिला खेलाडीहरूले आफ्नो अन्तर्राष्ट्रिय र्याङ्किङका लागि महत्वपूर्ण अंक हासिल गर्न सक्नेछन्।
नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले प्रतियोगिता युवा खेलाडीहरूको प्रोत्साहन र उनीहरूको अन्तर्राष्ट्रिय र्याङ्किङ सुधारका लागि महत्वपूर्ण रहेको उल्लेख गरे। “नेपाल एमेच्योर ओपनले अहिले ११औं संस्करणमा प्रवेश गर्दा, यसले नेपाल र सम्पूर्ण दक्षिण एसियामा युवा विकास तथा एमेच्योर गल्फको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ,” घलेले बताए। उनले प्रतियोगिता सफल बनाउन साथ दिने सबै प्रायोजक र सहयोगी संस्थाप्रति आभार पनि प्रकट गरे।
प्रतियोगितामा सहयोग गर्ने निकायहरूमा राष्ट्रिय खेलकुद परिषद्, बागमती प्रदेश खेलकुद विकास परिषद्, गोकर्ण फरेष्ट गल्फ रिसोर्ट, शिखर इन्स्योरेन्स, सिटी एक्सप्रेस मनि ट्रान्सफर, सिटिजन बैंक, होटल मेची क्राउन, हिमालयन एयरलाइन्स, होटल रोयल सिंगी, नेपाल ओलम्पिक कमिटी तथा मेहेन्दो होटल एण्ड स्टुडियो सुइट्स रहेका छन्।





