
जेठ १६ गते, २०८२
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले यु–१४ विद्यालयस्तरीय खेलकुद प्रतियोगिता यही जेठ २२ गतेदेखि २६ गतेसम्म काठमाण्डौमा आयोजना गर्ने भएको छ। बालबालिकामा लुकेको खेल प्रतिभा पहिचान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको यस प्रतियोगितामा कुल ६ खेल समावेश गरिने प्रतियोगिता विभाग प्रमुख मीनकुमार शर्माले जानकारी दिएका छन्।
प्रतियोगितामा एथलेटिक्स, टेबलटेनिस, बास्केटबल, रग्वी, व्याडमिन्टन (छात्र/छात्रा) तथा क्रिकेट (छात्र मात्र) समावेश छन्।
कार्यक्रमको अन्तिम तयारी पूरा भएको र यसमा विद्यालय खेलकुद महासंघ, प्याव्सन, एन–प्याव्सन, नेपाल शिक्षक महासंघ तथा सम्बन्धित खेल संघका प्रतिनिधिहरुको सहभागिता रहेको कार्यक्रम संयोजक तथा कार्यकारी समिति सदस्य अन्जना प्रधानले बताइन्।
खेल कार्यक्रमको विवरण
प्रतियोगिताको उद्घाटन समारोह जेठ २२ गते हुनेछ।
एथलेटिक्स र रग्वी: जेठ २२ र २३ गते दशरथ रंगशालामा
व्याडमिन्टन: देवीनगर हल, बानेश्वर
टेबलटेनिस: लैनचौर
बास्केटबल: राखेप कभर्ड हल, त्रिपुरेश्वर
क्रिकेट (छात्र): जेठ २२ देखि २६ गतेसम्म मुलपानी क्रिकेट मैदानमा
प्रतिस्पर्धात्मक विधाहरू
एथलेटिक्स: १००, २००, ४००, ८०० मिटर दौड, ४x१०० मिटर रिले र लङजम्प
टेबलटेनिस र व्याडमिन्टन: छात्र/छात्रा सिंगल र डबल्स
बास्केटबल: छात्र/छात्रा तर्फ ३x३
रग्वी: छात्र/छात्रा तर्फ प्रतियोगिता सञ्चालन गरिने
राखेपको प्रचार–प्रसार शाखाका खुशराज दाहालले दिएको जानकारी अनुसार प्रतियोगिता सफलतापूर्वक सञ्चालन गर्न आवश्यक सबै तयारी पूरा भएको छ।





