
मोरङ — झारफुकको निहुँमा १५ वर्षीया नाबालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा मोरङ, विराटनगर महानगरपालिका–६ का ३५ वर्षीय महमद साबिर मलबीलाई प्रहरीले पक्राउ गरेको छ।
सिरहा जिल्ला घर भई तीन वर्षदेखि विराटनगर–६ रामपुरस्थित डेरामा दिदीसँग बस्दै आएकी बालिका केही महिनादेखि अकस्मात् बेहोस हुने, डर लाग्ने, आत्तिने जस्ता मानसिक र शारीरिक समस्या देखिएपछि परिवारले विभिन्न अस्पतालमा उपचार गराएका थिए। तर स्वास्थ्यमा सुधार नआएपछि झारफुक गर्नुपर्ने भन्दै गाउँबाट सिफारिस आएको झारफुक गर्ने महमद साबिर मलबीलाई बोलाएर नियमित झारफुक गराउन थालिएको थियो।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार महमद साबिरले विगत ३–४ महिनादेखि झारफुकको नाममा बालिकामाथि यौन दुर्व्यवहार गर्दै आएको खुलेको छ। उनले उपचारको बहानामा रु ७०,००० रुपैयाँ मागेका थिए।

२०७८ साल चैत्र १७ गते राति करिब १० बजे उपचार रातिमा मात्र गर्न सकिने र छुट्टै कोठा आवश्यक पर्ने भन्दै बालिकाको दिदीलाई जानकारी गराई, बालिकालाई एक्लै कोठामा लगेर करिब १–२ घण्टा राखेका थिए।
पछिल्लो घटनामा, २०७९ साल जेठ १३ गते बालिकाले रुँदै दिदीसँग उक्त व्यक्ति झारफुक गर्ने नाममा आफूलाई स्पर्श गरेको र यौन दुर्व्यवहार गरेको जानकारी दिएकी थिइन्। त्यसपछि पीडित पक्षले जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएका थिए।
प्रहरीले जाहेरीको आधारमा महमद साबिरलाई पक्राउ गरी बाल यौन दुर्व्यवहार सम्बन्धी कसुरमा मोरङ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ।
पक्राउ परेका व्यक्तिको विवरणः
नाम: महमद साबिर मलबी
उमेर: ३५ वर्ष
ठेगाना: मोरङ, विराटनगर महानगरपालिका वडा नं.–६





