शहीद सुरोज शाक्य स्मृति काठमाडौं महानगरव्यापी अन्तर वडा टिम चेस प्रतियोगिता सुरु, पहिलो दिन वडा नं. ७ र २५ संयुक्त अग्रस्थानमा



काठमाडौं महानगरपालिका वडा नं. २२ को आयोजनामा सुरु भएको “शहीद सुरोज शाक्य स्मृति काठमाडौं महानगरव्यापी अन्तर वडा टिम चेस प्रतियोगिता २०८२” को पहिलो दिन तीन चरणका खेलहरू सम्पन्न भएका छन्।

महानगरका २० वटा वडाबाट तीन–तीन जना खेलाडी सहभागी भएका प्रतियोगिताको पहिलो दिनको खेलपछि वडा नं. ७ र वडा नं. २५ संयुक्त रूपमा अग्रस्थानमा उक्लिएका छन्।

वडा नं. ७ ले टिम प्वाइन्ट ६ र व्यक्तिगत रूपमा ८ अंक जोड्दै शीर्ष स्थानमा रहन सफल भएको हो। उक्त वडाका खेलाडीहरूमध्ये पहिलो बोर्डमा सिएम पुरुषोत्तम चौलागाईंले ३ अंक, दोस्रो बोर्डमा सिएम भगवती प्रसाद शर्माले ३ अंक र तेस्रो बोर्डमा सजल न्यौपानेले २ अंक जोडेका छन्।

त्यस्तै, वडा नं. २५ ले पनि टिम प्वाइन्ट ६ र व्यक्तिगत ७ अंक सहित संयुक्त अग्रस्थानमा आफ्नो स्थान सुरक्षित गरेको छ। यस टिमका हिरा काजी श्रेष्ठले ३, एफएम रिजेन्द्र राजभण्डारीले १ र रिया श्रेष्ठले ३ अंक प्राप्त गरेका छन्।

प्रतियोगितामा वडा नं. २७, ३, १ र २४ ले समान ५ टिम प्वाइन्ट जोड्दै संयुक्त दोस्रो स्थानमा स्थान बनाएका छन्।

वडा नं. २७ को टिमतर्फ राजेन्द्र बज्राचार्यले २.५, महेश्वर लाल डंगोलले ३ र बिनिता कपालीले २ अंकको योगदान दिएका छन्। वडा नं. ३ का जेनिश तामाङले २.५, डि.बी. कार्कीले २ र अभिनव पाण्डेले ३ अंक प्राप्त गरेका छन्।

वडा नं. १ बाट विजृश राजकर्णीकारले २, बुद्धिराज राजकर्णीकारले २.५ र हर्षवर्धन राठीले ३ अंक जोडेका छन्।

वडा नं. २४ का बद्रिलाल नेपालीले ३, पुण्यमान कर्माचार्यले २.५ र स्पर्श सरावगीले १ अंक प्राप्त गरेका छन्।

प्रतियोगिताको औपचारिक उद्घाटन वडा नं. २२ का अध्यक्ष चिनिकाजी महर्जन र शहीद सुरोज शाक्यकी आमा श्रीमती कुलदेवी शाक्यले संयुक्त रूपमा चेसको गोटी चालेर गरेका हुन्। उद्घाटन समारोहका सभापति समेत रहेका वडा अध्यक्ष महर्जनले शुभकामना मन्तव्य दिंदै बौद्धिक खेलको प्रवर्द्धन र महानगरका वडाहरूलाई खेलकुद गतिविधिमा संलग्न गराउन प्रतियोगिता आयोजना गरिएको बताए।

प्रतिक्रिया दिनुहोस्