
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वार्षिकोत्सव तथा अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०८२ को अवसरमा काठमाडौंस्थित एन्फा कम्प्लेक्समा एक विशेष मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ।
अल्पाइन स्पोर्ट्स फेडेरेसन नेपालको आयोजनामा र अखिल नेपाल फुटबल संघ (एन्फा)को प्राविधिक सहयोगमा भएको उक्त खेलमा नेपालका सगरमाथा फ्रेन्डशिप टिम र चीनका माउन्ट चोमोलोङ्मा फुटबल टिमबीच प्रतिस्पर्धा भएको थियो। रोमाञ्चक खेलमा नेपालले चीनलाई ४–१ ले पराजित गर्दै विजय हासिल गरेको हो।

‘युनाइटेड बाई माउन्टेन, बोण्डेड थ्रु फुटबल’ भन्ने नारासहित आयोजित यो मैत्रीपूर्ण खेलले दुई देशबीचको मित्रता, आपसी सम्मान र सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने लक्ष्य राखेको थियो।
कार्यक्रममा चीनका लागि नेपालीस्थित राजदूत चेन सोङ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, अल्पाइन स्पोर्ट्स फेडेरेसनका उपाध्यक्ष रोमनाथ ज्ञवाली लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। राजदूत चेन सोङले प्रमुख रेफ्रीलाई बल हस्तान्तरण गर्दै खेलको उद्घाटन गरेका थिए।
मैत्रीपूर्ण खेलसँगै ‘समिटियर्स फुटबल हस्ताक्षर समारोह’ पनि आयोजना गरिएको थियो, जहाँ नेपाल र चीनका सगरमाथा आरोहीहरूले सामूहिक रूपमा बलमा हस्ताक्षर गरी एकता र मित्रताको प्रतीक प्रस्तुत गरेका थिए। खेलपछि दुवै टोलीका खेलाडीहरूलाई मैत्री ट्रफी, पदक तथा प्रमाणपत्र वितरण गरियो।

अल्पाइन स्पोर्ट्स फेडेरेसनका उपाध्यक्ष ज्ञवालीले यस्तो ऐतिहासिक फुटबल खेलले नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ बनाएको बताए। यो कार्यक्रम राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल बिग माउन्टेन ट्राभलको विशेष सहयोगमा सम्पन्न भएको हो।
यसै सन्दर्भमा, सगरमाथा आरोहणको ७२ वर्षे इतिहासमा पहिलोपटक आयोजना गरिएको ‘एभरेष्ट समिटियर्स समिट २०२५’ मा सहभागी हुन आएका चिनियाँ आरोहीहरूले पनि खेलमा सहभागिता जनाएका थिए। उक्त समिटमा नेपाल र चीनसहित २० भन्दा बढी देशका तीन सय सगरमाथा आरोहीहरूलाई सम्मान गरिएको थियो। एभरेष्ट एलायन्स नेपालका अध्यक्ष सुदर्शन नेपालका अनुसार समिट आगामी वर्षदेखि दुई दिनको कार्यक्रमका रूपमा नियमित आयोजना गरिनेछ।





