
आयोजक लोयल्टी एकेडेमीले ‘लोयल्टी एसईई कप’ अन्तर्गतको ब्वाइज फुटबलमा बुधबार विजयी सुरुआत गरेको छ। मण्डिखाटारस्थित आफ्नै घरेलु मैदानमा लोयल्टीले बीएमसीएलाई २–० गोल अन्तरले पराजित गरेको हो। टोलीका तर्फबाट रोहन गुप्ता र कृष बोहराले समान एक–एक गोल गरेका थिए।
त्यसैदिन भएको अर्को खेलमा डीएस९६ ले टिम भोर्टेक्समाथि २–० को जित हात पार्यो।
प्रतियोगिताको उद्घाटन लोयल्टी एकेडेमीका संस्थापक अध्यक्ष विजय सम्बाहाम्फेले एक कार्यक्रमका बीच गरेका थिए। लिग कम नकआउट प्रणालीमा सञ्चालन भइरहेको प्रतियोगितामा कुल १६ टिम सहभागी छन्। विजेताले नगद २५ हजार र उपविजेताले १२ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
‘एसईई कप’ अन्तर्गत बास्केटबल प्रतिस्पर्धा पनि आयोजना हुने छ। बिहीबारदेखि सुरु हुने ब्वाइज बास्केटबलमा ५ र गल्र्समा ४ टिमले राउन्ड रोबिन लिग प्रणालीमा प्रतिस्पर्धा गर्नेछन्। लिग चरणमा प्राप्त अङ्कका आधारमा विजेता र उपविजेता टुंगो लाग्नेछ।
ब्वाइज बास्केटबलको विजेताले १० हजार र उपविजेताले ५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। गल्र्सतर्फ पहिलो हुने टिमले ७ हजार र दोस्रो हुनेले ३ हजार रुपैयाँ प्राप्त गर्नेछन्। आयोजकका अनुसार ५० देखि १०० प्रतिशतसम्म छात्रवृत्तिको व्यवस्था समेत गरिएको छ।





