
काठमाडौं, जेठ १४ गते।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले युडब्ल्युडब्ल्यु एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिपमा कांस्य पदक जितेका सुरेश चुनारालाई बुधबार विशेष सम्मानसहित बधाई दिएका छन्। त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा आयोजित कार्यक्रममा सदस्य–सचिव घिसिङले सुरेशलाई स्वागत गर्दै उनको उपलब्धिको प्रशंसा गरे र आगामी यात्राका लागि शुभकामना व्यक्त गरे।

भारतको नयाँ दिल्लीमा मे २१ देखि २६ सम्म सम्पन्न उक्त प्रतियोगितामा सुरेशसहित नेपालबाट ३ जना पुरुष खेलाडी सहभागी भएका थिए। यद्यपि, सुजित यादव र रामकिशोर यादव पदक जित्न असफल भए।
कार्यक्रममा नेपाल कुस्ती संघका अध्यक्ष तथा राखेप सदस्य प्रकाशकुमार कुसारी, महासचिव खगेन्द्र बस्नेत, राष्ट्रिय टिम तयारी निर्देशक दीपक विष्ट, कुस्तीका मुख्य प्रशिक्षक मुम्ताज अली इद्रिसीलगायतको उपस्थिति रहेको थियो।





