एचजेबीएल: हाउण्ड्सको छैटौं जित, सामाखुशीले पहिलो जित निकाले




१३ जेठ, काठमाडौं ।

हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) अन्तर्गत मंगलबार कीर्तिपुर कभर्डहलमा हाउण्ड्स एकेडेमीले कीर्तिपुर क्लबलाई ८८-८३ को रोमाञ्चक अन्तरले पराजित गर्दै छैटौं जित दर्ता गरेको छ। यो जितसँगै हाउण्ड्स १३ अंकसहित शीर्ष स्थानमै यथावत् रहेको छ, भने कीर्तिपुर ७ खेलबाट ९ अंक जोड्दै पाँचौं स्थानमा छ।

खेलको पहिलो क्वाटरमा कीर्तिपुरले २४-२३ को झिनो अग्रता लिएपनि दोस्रो क्वाटरमा हाउण्ड्सले २४-२० ले फर्की हाफ टाइमसम्म ४७-४४ को अग्रता बनायो। तेस्रो क्वाटरमा पनि हाउण्ड्सले २४-१८ को नतिजा निकाल्दै ७१-६२ को अग्रता कायम राख्यो। अन्तिम क्वाटर कीर्तिपुरले २१-१७ ले आफ्नो पक्षमा पारेपनि समग्रमा हार टार्न सकेन। हाउण्ड्सका सौरभ श्रेष्ठ खेलको मोस्ट भ्यालुएबल प्लेअर (एमभीपी) घोषित भए। विजय बुर्जाले हाउण्ड्सका लागि सर्वाधिक २२ अंक जोड्दा, कीर्तिपुरका निश्चल महर्जनले व्यक्तिगत रूपमा २८ अंक बनाएपनि टिमलाई जित दिलाउन असफल रहे।

सोही दिन भएको अर्को खेलमा सामाखुशी युथ क्लबले रोएल क्लबलाई ८७-८० ले हराउँदै सातौं खेलमा पहिलो जित हात पारेको छ। पहिलो क्वाटरमा दुबै टिमले समान १८ अंक जोडेका थिए। दोस्रो क्वाटर रोएलले २५-२३ ले आफ्नो पक्षमा पार्दै हाफ टाइममा ४३-४१ को अग्रता बनायो। तर तेस्रो र चौथो क्वाटरमा सामाखुशीले क्रमशः २०-१४ र २७-२३ को नतिजा निकाल्दै जित सुनिश्चित गर्‍यो।

सामाखुशीका प्रज्वल महर्जन २३ अंकसहित खेलको एमभीपी घोषित भए। रोएलका प्रसङ ध्वज मास्केले २६ अंक जोडेपनि टोलीलाई जित दिलाउन सकेनन्। यो जितपछि सामाखुशीले ७ खेलबाट ८ अंक जोडेको छ र अंक तालिकाको अन्तिम स्थानमै रहेको छ। रोएल भने पाँचौं हारसँगै ७ खेलबाट ९ अंकसहित चौथो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्