पदक विजेता बक्सरलाई राखेपको सम्मान



राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एएसबीसी युथ तथा यु–२२ बक्सिङ प्रतियोगितामा पदक जितेका नेपाली बक्सरहरूको सम्मान गरेको छ। मंगलबार त्रिपुरेश्वरस्थित कार्यालयमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले खेलाडीहरूलाई स्वागत गर्दै उनीहरूको उपलब्धिका लागि बधाई दिएका हुन्।

श्रीलंकाको कोलम्बोमा गत मे १२ देखि २४ सम्म आयोजित प्रतियोगितामा नेपालले ४ कांस्य पदक जितेको थियो। पुरुषतर्फ ५१ केजीतर्फ अर्पिल राना र ६० केजीतर्फ सिंहवीर लिम्बूले तथा महिलातर्फ ८० केजीमाथि त्रिशा जबेगु र ६० केजीतर्फ नारिका राईले कांस्य पदक हात पारेका थिए।

स्वागत समारोहमा नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले, महासचिव मानबहादुर भण्डारीसहित अन्य पदाधिकारीहरूको उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्