
लोयल्टी एकेडेमीको आयोजनामा “लोयल्टी एकेडेमी एसइइ कप” खेलकुद प्रतियोगिता बुधबारदेखि सुरु हुने भएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका ईसीए इन्चार्ज ग्याल्जेन शेर्पाले प्रतियोगितासम्बन्धी जानकारी दिएका हुन्।
प्रतियोगितामा बास्केटबल र फुटबल दुई खेल समावेश गरिएको छ। बास्केटबलतर्फ केटातर्फ ५ टिम र केटीतर्फ ४ टिमले सहभागिता जनाउनेछन्। दुवै समूहका खेलहरू राउन्ड रोबिन लिग प्रणालीमा सञ्चालन हुनेछन्, र लिगको अंकतालिका अनुसार विजेता तथा उपविजेता घोषणा गरिनेछ।
फुटबलतर्फ सेभेन ए साइड फर्म्याटमा १६ केटा टिमले प्रतिस्पर्धा गर्नेछन्। टिमहरूलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल सञ्चालन गरिने छ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई ५० देखि १०० प्रतिशतसम्म छात्रवृत्ति प्रदान गरिने लोयल्टी एकेडेमीका प्रिन्सिपल वीरेन्द्र कुरुम्वाङले जानकारी दिए। चार दिनसम्म सञ्चालन हुने प्रतियोगिताका सबै खेल मण्डिखाटारस्थित लोयल्टी एकेडेमीकै प्रांगणमा हुनेछन्।





