एनएसजेएफको नवनिर्वाचित कार्यसमितिलाई राखेपको बधाई तथा शुभकामना



काठमाडौं, जेठ १३ – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को हालै सम्पन्न निर्वाचनबाट निर्वाचित कार्यसमितिलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बधाई तथा शुभकामना दिएको छ।

मंगलबार राखेपका सदस्य–सचिव टङकलाल घिसिङले आफ्नो कार्यकक्षमा एनएसजेएफको टिमसँग भेट गर्दै नवनिर्वाचित टिमको कार्यकाल सफल रहोस् भन्ने शुभकामना व्यक्त गरे।

गत बैशाखमा सम्पन्न एनएसजेएफको २०औँ साधारण सभा तथा निर्वाचनबाट निरञ्जन अधिकारीको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन भएको थियो। सो समितिमा प्रजित शाक्य, नवीन लुइँटेल र अनन्त वाग्ले मनोनित सदस्यका रूपमा थपिएसँगै कार्यसमितिले पूर्णता पाएको छ। शाक्यलाई प्रवक्ताको जिम्मेवारी समेत दिइएको छ।

सदस्य–सचिव घिसिङले एनएसजेएफसँग सहकार्यमा खेलकुदसम्बन्धी ‘कन्क्लेभ’ आयोजना गर्ने चाहना राखेको जानकारी दिए। साथै, नेपाली खेलकुद अनुसन्धानमा एनएसजेएफ एकेडेमीसँग सहकार्य गर्न राखेप तयार रहेको उनको भनाइ थियो। उनले एनएसजेएफद्वारा आयोजना हुने ‘पल्सर स्पोर्ट्स अवार्ड’को समेत प्रशंसा गरे।

यस अवसरमा एनएसजेएफका अध्यक्ष निरञ्जन अधिकारीले राखेपसँगको सहकार्य सधैं मजबुत रहेको उल्लेख गर्दै भविष्यमा पनि नेपाली खेलकुदको विकासमा दुई संस्थाबीच अझ रचनात्मक र सिर्जनात्मक सहकार्य हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्