
काठमाडौं
महामन्जुश्री सेकेन्डरी स्कुलको आयोजनामा प्रथम महामन्जुश्री कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुँदैछ। प्रतियोगितामा ३ विधामा ४१ विद्यालयका ६३ टोली सहभागी हुनेछन्।
सिनियर ब्वाइजमा ३२, जुनियर ब्वाइजमा १५ र सिनियर गल्र्समा १६ टोलीले भाग लिने स्कुलका प्रिन्सिपल चूडामणि मरासिनीले मंगलबार पत्रकार सम्मेलनमा जानकारी दिए।
दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिता लिग कम नकआउट आधारमा खेलाइने छ। खेलहरू नागर्जुन नगरपालिका–५, सीतापाइलास्थित स्कुलको आफ्नै कोर्टमा हुनेछन्।
प्रशासन प्रमुख केशव मरासिनीका अनुसार प्रतियोगितामा करिब १ लाख ८० हजार रुपैयाँ खर्च हुने अनुमान छ। विद्यार्थीलाई खेलप्रति आकर्षित गर्न र प्रतिभावान खेलाडी पहिचान गर्न प्रतियोगिता आयोजना गरिएको प्रिन्सिपल मरासिनीले बताए।
पत्रकार सम्मेलनमा भाइस प्रिन्सिपल हेमलता चाम्लिङ, प्रशिक्षक शैलेश श्रेष्ठ र खेलकुद शिक्षक लक्ष्मण फुयालको उपस्थिति थियो।





