
काठमाडौं, जेठ १३ – बंगलादेशको बीकेएसपी (क्रिरा शिक्षा प्रतिष्ठान) कप आमन्त्रण अन्तर्राष्ट्रिय जुडो च्याम्पियनसिपमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै ५ स्वर्ण, १ रजत र ४ कांस्यसहित कुल १० पदक जितेको छ। यो उपलब्धिसहित नेपाल प्रतियोगिताको समग्र उपविजेता बन्यो।
नेपालका लागि पाम (बन्दी सहायता नियोग) का खेलाडीहरूले सबैभन्दा बढी ४ स्वर्ण र १ कांस्य जित्दै उल्लेखनीय योगदान दिए। पामबाट सहभागी पाँचै खेलाडीले पदक जितेका हुन्।
स्वर्ण पदक जित्ने नेपाली खेलाडीहरूमा पुरुष ६० केजीमुनि सविनकुमार दियाली, ६६ केजीमुनि विशेष विक, महिला ४८ केजीमुनि निशा श्रेष्ठ, ५२ केजीमुनि विनिता नेपाली र ५७ केजीमुनि पेमा याङजी शेर्पा रहेका छन्।
पुरुष ४५ केजीमुनि रिवाज लामा तामाङले रजत जिते भने पुरुष ५५ केजीमुनि बुद्ध गुरुङ, ७३ केजीमाथिका विज्ञान तिखत्री, महिला ४४ केजीमुनि समिता नेपाली र ६३ केजीमुनि रेखा श्रेष्ठले कांस्य पदक हात पारे। प्रतियोगितामा नेपालबाट १२ खेलाडी सहभागी थिए।
प्रशिक्षकको रूपमा राधा देवी राई र लक्ष्मी तामाङ थिए। राधा देवीले निर्णायकको भूमिकासमेत निर्वाह गरेकी थिइन्, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जानकारी दिए।
प्रतियोगितामा आयोजक बंगलादेशको बीकेएसपी टोली ६ स्वर्ण, ८ रजत र १० कांस्यसहित च्याम्पियन बन्यो।





