
काठमाडौं, जेठ १३
‘शहीद स्मारक बी डिभिजन लिग’मा उपविजेता बन्दै शीर्ष ए डिभिजन लिगमा स्थान बनाएको श्री टोखा भगवती क्लबलाई टोखा नगरपालिकाले एक करोड रुपैयाँ आर्थिक सहयोग र अभ्यासका लागि भूतखेल खुलामञ्च मैदान प्रदान गर्ने घोषणा गरेको छ।
नगरपालिकाले आयोजना गरेको विशेष सम्मान समारोहमा क्लबका खेलाडी, प्रशिक्षक र पदाधिकारीलाई सम्मान गर्दै नगर प्रमुख प्रकाश अधिकारीले क्लबको सफलताले टोखा नगरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सहयोग गरेको उल्लेख गरे। उनले आगामी दिनमा क्लबलाई आवश्यक सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
उपप्रमुख मुरारी तामांगले क्लबलाई भूतखेल खुला मञ्च अभ्यासका लागि प्रयोग गर्न दिने र एकेडेमी सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाइने जानकारी दिए।
टोखा भगवती क्लबले १३ खेलमा ७ जित, ५ बराबरी र १ हारसहित २६ अंक प्राप्त गर्दै उपविजेता बनेको थियो। क्लबले अबको सिजनमा ए डिभिजन लिग खेल्नेछ। सम्मान समारोहमा खेलाडी तथा अफिसियलहरूलाई मायाको चिनो र खेल पोसाक प्रदान गर्दै नगरपालिकाले आगामी सफलताको शुभकामना व्यक्त गरेको थियो।





