टोखा नगरपालिका क्रिकेट कप : फाइनलमा वर्षा बाधक हुँदा सत्य साई र सरस्वती स्कूल संयुक्त विजेता



काठमाडौं, जेठ ११ — वर्षाले फाइनल खेल प्रभावित भएपछि टोखा नगरपालिका स्तरीय क्रिकेट कपमा श्री सत्य साई शिक्षासदन र श्री सरस्वती हाई स्कूललाई संयुक्त रूपमा विजेता घोषित गरिएको छ। सेभ एन्ड सस्टेन र टोखा नगरपालिकाको संयुक्त आयोजनामा भएको प्रतियोगिता टि-१० फर्म्याटमा जेठ ५ देखि ११ गतेसम्म टोखा नगरपालिका खुलामञ्च भूतखेल मैदानमा सम्पन्न भएको थियो।

प्रतियोगितामा नगर क्षेत्रका १० विद्यालय सहभागी थिए, जसलाई दुई समूहमा विभाजन गरी खेलाइएको थियो। समूह ‘ए’ मा एपी स्कूल, श्री सत्य साई शिक्षासदन, त्रियोग हाई स्कूल, काठमाडौं यूरो स्कूल र प्यारामाउन्ट एकेडेमी थिए भने, समूह ‘बी’ मा एपी च्यालेन्जर्स, सरस्वती हाई स्कूल, डिभाइन स्कूल, त्रिवेणी सदन इंग्लिश सेकन्डरी स्कूल र नितेन मेमोरियल स्कूल थिए। प्रत्येक टोलीले समूह चरणमा चार–चार खेल खेलेका थिए।

फाइनल खेलका लागि पुगेका सत्य साई शिक्षासदन र सरस्वती हाई स्कूलबीचको खेल वर्षाका कारण स्थगित भएपछि दुवैलाई संयुक्त रूपमा उपाधि प्रदान गरिएको हो। प्रतियोगिताका संयोजक तथा राष्ट्रिय क्रिकेट खेलाडी खुशी डंगोलका अनुसार, टुंगो नलागेपछि दुवै टिमलाई विजेता घोषणा गरिएको हो।

प्रतियोगिताका व्यक्तिगत विधामा सौरभ गोइत उत्कृष्ट खेलाडी घोषित भए भने, अनिश खड्का उत्कृष्ट ब्याटर, आशीष मण्डल उत्कृष्ट बलर र प्रशिष के.सी. उदीयमान खेलाडी घोषित भए। विजेता टिमहरू र उत्कृष्ट खेलाडीहरूलाई नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान तथा नेपाल क्रिकेट संघका सचिव पारस खड्काले पुरस्कार वितरण गरे। उनले स्थानीय तहबाट हुने यस्ता प्रतियोगिताले भविष्यका राष्ट्रिय खेलाडी उत्पादनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

कार्यक्रमकी संयोजक डंगोलले प्रतियोगितामा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै आगामी संस्करणलाई अझ व्यवस्थित र भव्य बनाउने प्रतिबद्धता व्यक्त गरिन्।

प्रतिक्रिया दिनुहोस्