
त्रिभुवन आर्मी क्लबले प्रथम सहिद स्मृति महिला राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिता जितेको छ। सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा आर्मीले एपिएफ क्लबलाई २०–५ ले पराजित गर्दै उपाधि हात पारेको हो।
उपाधिसँगै आर्मीले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्यो भने उपविजेता एपिएफले ५० हजार रुपैयाँ पायो। प्रतियोगितामा आर्मीकी मुना सोरेन उत्कृष्ट खेलाडी घोषित भइन् र उनले ७ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन्।
सहिद स्मृति स्पोर्ट्स एकेडेमीको आयोजनामा तथा नेपाल रग्बी संघको प्राविधिक सहयोगमा सम्पन्न प्रतियोगिताका विजेतालाई पूर्व अर्थमन्त्री वर्षामान पुन, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलगायतले पुरस्कार प्रदान गरे।
एकेडेमीले रग्बीपछि ब्याडमिन्टन, फुटसल र तेक्वान्दो प्रतियोगिताहरू पनि आयोजना गर्ने जनाएको छ।





