
काठमाडौं, जेठ १२
इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को १५औं संस्करण यसै वर्ष डिसेम्बर १८ देखि २० तारिखसम्म काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आयोजना हुने भएको छ।
आईओएफटीसी नेपालले आफ्नो २५औं वार्षिकोत्सवको अवसरमा प्रतियोगिता एक वर्ष अघि नै आयोजना गर्न लागेको हो। विगत संस्करण गत वर्ष दक्षिण कोरियाको सिओलमा सम्पन्न भएको थियो।
प्रतियोगिता आयोजक तथा संस्थाका निर्देशक ग्रान्डमास्टर दिवाकर ‘डान’ महर्जनले सन् २००० मा पहिलो संस्करण नेपालमै आयोजना भएको स्मरण गर्दै, पुनः नेपालमा आयोजना हुन लागेकोमा उत्साह व्यक्त गरे।
नेपालसँगै दक्षिण कोरिया, अमेरिका, फिलिपिन्स, अष्ट्रेलिया, अष्ट्रिया, क्यानडा, पाकिस्तान, भारत, हङकङ, चीन, मेक्सिको र माल्दिभ्ससहित ७ सयभन्दा बढी खेलाडी सहभागी हुनेछन्।
सिनियर पुरुष तथा महिलातर्फ आठ–आठ तौल समूह, जुनियर र क्याडेटतर्फ १०–१० तौल समूहमा प्रतिस्पर्धा हुनेछ। साथै, व्यक्तिगत, जोडी र टिम गरी पुम्से इभेन्ट र बोर्ड ब्रेकिङ इभेन्ट पनि समावेश गरिनेछ। कुल ६५ स्वर्ण, ६५ रजत र १३० कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ।
ओलम्पिक स्वर्ण पदक विजेता तथा विश्व तेक्वान्दो महासंघका अध्यक्ष मुन डाइ सुङ र कुकिवन प्रशिक्षक मिन हाक सिओले विशेष अतिथिका रूपमा उपस्थित हुनेछन्।





